रातो कागज

काभ्रेपलाञ्चोक, १ भदौः कृष्ण जन्माष्टमीका अवसरमा आज काभ्रेपलाञ्चोकमा करिब सात हजार कन्यालाई पुजिएको छ । प्राचीन, ऐतिहासिकता बोकेको जिल्लाको बनेपा सहरमा एक सय २३ वर्षअघि सुरु गरिएको ‘कन्या–पूजा’ रजस्वला नभएका १० वर्षमुनिका कन्या०लाई हरेक वर्ष यही दिन पुजिँदै आइएको हो ।
नेपालमा अन्य स्थानमा नगरिने यस पवित्र कार्यअन्तर्गत मध्याह्नबाट सुरु भएको पूजामा बनेपामा करिब सात हजार कन्या पुजिएको सनातन कन्या–पूजा प्रबन्ध समितिले जनाएको छ । केही वर्षदेखि जिल्लाका अन्य विभिन्न स्थानमा पनि कन्या पूजालाई निरन्तरता दिन थालिएको छ । कन्या–पूजा बनेपा नगरको पुरानो बजारमा १९५९ सालदेखि वर्षैपिच्छे कृष्ण जन्माष्टमीका दिन गर्दै आइएको हो । यो नगरमा यस पूजाको इतिहास एक सय २३ वर्ष पुरानो हो ।
बनेपा नगरको भोलाखाँ टोलबाट लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बसेका थिए । कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गर्छन् । समितिका सचिव प्रकाश कायस्थका अनुसार कन्या–पूजामा समितिमार्फत करिब सात हजार कन्यालाई एक सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मीठाइ वितरण गरेका थिए । पूजामा सामेल प्रत्येक कन्याको टाउकामा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाइदिने प्रचलन पनि छ ।
रजस्वला नभएका तथा बेल–विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ । उक्त पूजामा सहभागी हुने करिब सात हजार कन्याका लागि ३२ हजार स्वारीसहितका सामग्री तयार गरिएको समितिले जनायो । बनेपामा भएको कन्या–पूजामा प्रतिकन्या रु पाँच सय बराबरका सामग्री उपलब्ध गराइएको छ । यस मान्यताका साथ पछिल्ला वर्षदेखि काभ्रेपलाञ्चोकको नाला, पनौती, साँगा, दोलालघाटलगायत विभिन्न बजार तथा बस्तीमा रजस्वला नभएका कन्यालाई श्रीकृष्ण जन्माष्टमीका दिन पुज्दै आइएको हो ।
विशेषगरी जिल्लाको मुख्य सहर बनेपामा धुमधामका साथ कन्या–पूजा आयोजना गरिँदै आइन्छ । बनेपामा काभ्रेपलाञ्चोक तथा छिमेकका जिल्लाबाट बर्सेनि करिब सात हजार कन्या सहभागी हुने गर्छन् । दश वर्षमुनिका कन्यालाई पुज्दा उनीहरूको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई पनि धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ ।
अर्को किंवदन्तीअनुसार रजस्वला नभएका र बेल–विवाह नगरिएका कन्याहरूको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचकन्यासमेत मानवकन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने तथा बनेपा सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’ नै भएकाले कन्यालाई पुज्दै आइएको जनविश्वास रहिआएको छ । कन्याहरूको स्वागत एवं सम्मानका लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजासमेत बजाएका थिए ।
बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति या वर्गका आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिएको हो । बनेपा नपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या पूजा सुरु हुने गर्दछ । किंवदन्तीअनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए । सोहीलाई सुरुका वर्षमा प्रचलनस्वरुप नेवार समुदायका रजस्वला नभएका कन्यामात्र पुजिँदै आइए पनि केही समयपछि सबै जातजातिका कन्यालाई पूजामा सामेल गराउँदै आइएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया