रातो कागज

नेपालगञ्ज, ३० साउनः नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली प्रहार गरी लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरुमा पक्राउ गरिएको र दुईजनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा उनीहरुमाथि दुई राउड गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए ।
लागुऔषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा दुई जनालाई पछ्याएका थियौँ तर त्यहाँ चार जना रहेछन् उनले भने । दुई जनालाई प्रहरीले पक्राउ गरेपछि बाँकी दुईजनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोजेपछि बाध्य भएर प्रहरीले गोली चलाएको प्रहरी उपरीक्षक घर्तीले बताए ।
प्रहरीले नेपागञ्ज उपमहानगरपालिका– ५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडियाका २० वर्षीय अजयकुमार र २० वर्षीय कात्र्तिक कुमारलाई पक्राउ गरेको हो ।
प्रहरीले कार्तिक कुमारको खुट्टामा गोली लागेको जनाएको छ । उनको दायाँ खुट्टामा गोली लागेको छ । लागुऔषध कारोवारीले प्रहार गरेको इँटा लागेर एकजना प्रहरी घाइते भएका छन् ।
घाइते प्रहरीलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया