Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सौर्य एयरलाइन्सको दुर्घटनाबारे संसदीय समितिमा छलफल, पीडित परिवारद्वारा न्यायिक जाँचको माग

रातो कागज
3 घण्टा अघि

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८१ साउन ९ गते दुर्घटना भएको सौर्य एयरलाइन्सको (नाइनएन–एमइ, सिआरजे २००) विमानको विषयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भएको छ । समितिमा वायुयान दुर्घटनाको जाँचबुझ प्रतिवेदनमाथि विस्तृत समीक्षा भएको हो ।

छलफलका क्रममा सौर्य एयरलाइन्स दुर्घटना छानबिन समिति अध्यक्ष रतिशचन्द्र लाल समुनले दुर्घटनाका प्रमुख कारणहरूमाथि प्रकाश पारे । उनले दुर्घटनाग्रस्त जहाज मर्मतसम्भार (मेन्टिनेन्स) को लागि उडाइएको थियो र त्यस क्रममा अत्यधिक सामग्री लोड गरिएको बताए ।

उनका अनुसार, ‘टुल्स र स्पेयर पाट्र्ससहितका भारी सामग्रीहरू इन्जिनियरिङ फ्लाइटको क्रममा जहाजमा लोड गरिएको थियो । लोडिङको जिम्मेवारी ग्राउण्डह्यान्ड र डिपार्टमेन्टको हो भने पनि, यो कार्य इन्जिनियरका सहायकहरूले आफैंले गरेका थिए । जसरी पायो, त्यसरी लोड गरिएको देखिन्छ । कार्गो कम्पार्टमेन्टमा नअटाउने सामग्री यात्रु क्याविनमै राखिएको थियो,’ उनले भने ।

उनले थपे, ‘फ्लाइट इन्ट्रल (आन्तरिक) भएकाले यात्रुहरूले आफ्नो समान आफैं लोड गरेकाले पनि चेकजाँचमा कमजोरी देखिएको छ । मौसमसम्बन्धी अवस्था भने काठमाडौं र पोखरामा सामान्य नै थियो ।

छलफलका क्रममा दुर्घटनामा आफ्ना तीन सन्तति गुमाएका प्रकाश खतिवडाले छानबिन प्रतिवेदनप्रति गम्भीर असन्तुष्टि जनाए ।

उनले भने, ‘नेपालको १०९ वटा विमान दुर्घटनाको इतिहासमा सौर्य एयरलाइन्सको यो दुर्घटना छुट्टै प्रकृतिको हो । प्रतिवेदनले ह्युमन फ्याक्टरलाई जिम्मेवार देखाए तापनि, यसमा अवैधानिक गतिविधिहरू समेत भएको पाइएको छ ।’

खतिवडाका अनुसार, सौर्य एयरलाइन्सले ४ वर्षको नातिलाई कर्मचारीका रूपमा जहाजमा राखेको थियो भने ऊर्जा मन्त्रालयमा कार्यरत उनकी छोरीलाई पनि कम्पनीको कर्मचारी बनाएर जहाजमा उडाइएको थियो ।

उनले भने, ‘उक्त उडान, यात्रुहरू र एयरलाइन्स कम्पनीको हर्कत पनि अवैधानिक छ । ४ वर्षको नातिलाई किन सौर्य एयरलाइन्सको कर्मचारी बनाइयो ? ऊर्जा मन्त्रालयमा कार्यरत आफ्नी छोरीलाई समेत सौर्य एयरलाइन्सको कर्मचारी बनाएर जहाज उडाइयो ।  किन कर्मचारी बनाइयो ?  न्यायिक जाँच आयोग बनाएर अनुसन्धान गर्नुपर्छ । न्याय र क्षतिपूर्तिको सुनिश्चित गर्न पनि जाँच आयोगको आवश्यक छ ।’

साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । मृतकमध्ये प्रकाश खतिवडाका ज्वाइँ, छोरी र नाति पनि थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया