रातो कागज

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । यसअघि नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा सरकार गठन गरेका बानियाँले संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।
यही साउन २० मा मुख्यमन्त्री पदमा नियुक्त बानियाँले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) अनुसार मुख्यमन्त्री बानियाँले विश्वासको मत प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ ।
यसका लागि सभामुख भुवन कुमार पाठकले आज अपरान्ह ४ बजे प्रदेश सभा बैठक बस्नेगरी मिति निर्धारण गरेका छन् । बैठकमा विश्वासको मत प्रस्तावमाथि छलफल गरी मतदान गरिनेछ ।
मुख्यमन्त्री बानियाँले हाल प्रदेशको नेतृत्व गरिरहेका छन् । हालको सत्ता समीकरणमा नेपाली कांग्रेस र नेकपा एमालेसहितको समर्थनमा बनेको सरकारलाई विश्वासको मत पाउनुपर्ने संवैधानिक आवश्यकता छ । विश्वासको मत प्रक्रिया प्रदेश सरकारको स्थायित्व र आगामी नीतिगत निर्णयका लागि महत्वपूर्ण मानिन्छ ।
कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । आफ्नै दलका नेता बहादुरसिंह लामालाई विस्थापन गर्दै बानियाँ मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्री बन्न बानियाँले लामाविरुद्ध कांग्रेसको प्रदेश संसदीय दलमा अविश्वास प्रस्ताव पारित गराई चुनावबाट आफैँ दलका नेता बनेका थिए । दलको नेतामा चुनाव हारेपछि लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया