Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बागमती प्रदेशमा एमालेका भरत केसी मन्त्री बन्ने पक्का

रातो कागज
3 घण्टा अघि

मकवानपुर । बागमती प्रदेश सभामा दोलखाबाट प्रत्यक्ष निर्वाचित नेकपा (एमाले) का सांसद भरत केसी मन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापछि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँको नेतृत्वमा बन्ने नयाँ मन्त्रीपरिषद्मा केसी पनि सहभागी हुने पक्का भएको हो ।

दोलखा क्षेत्र नम्बर ‘ख’ बाट प्रत्यक्ष निर्वाचित केसी एमाले भित्रको सहमति अनुसार मन्त्री बन्न लागेका हुन् । एमाले बागमती प्रदेश कमिटी र संसदीय दलले केसीलाई मन्त्री बनाउने सहमति गरिसकेको स्रोतको दाबी छ । एक वर्षअघि सरकार गठन हुँदा पनि उनी मन्त्रीका दाबेदार थिए । त्यसबेला पार्टीले अर्को चरणमा मन्त्री बनाउने वाचा गरेको थियो ।

केसी २०७४ सालको स्थानीय तह निर्वाचनमा दोलखाको भीमेश्वर नगरपालिकाका प्रमुख बनेका थिए । त्यसपछि २०७९ सालको प्रदेशसभा निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारका रूपमा रहेका कांग्रेसका बर्मा लामालाई १,८१९ मतान्तरले हराउँदै विजयी भएका थिए । उनले १९ हजार ४१४ मत प्राप्त गरेका थिए ।

स्रोतका अनुसार उनले पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयको चाहना राखेका छन् । कांग्रेसले दोलखाबाट आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई अघि सारेपछि एमालेमा पनि दोलखाबाट मन्त्री बनाउने दबाब थियो ।

यसैबीच, एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले आज दिउँसो १ बजेसम्म मन्त्रीको टुंगो लगाइने जानकारी दिएका छन् । पार्टीभित्र छलफल जारी रहेको र संसदीय दलको बैठकले अन्तिम निर्णय गर्ने उनले बताए ।

बहादुरसिंह लामाको नेतृत्वमा एमालेका तर्फबाट बनेका मन्त्रीमध्ये स्वास्थ्य मन्त्री किरण थापालाई मात्रै पुनः दोहोर्याउने तयारी छ । एमालेले यसपालि विगतका मन्त्रीलाई नदोहोर्याउने र प्रत्यक्ष निर्वाचित सांसदलाई प्राथमिकता दिने नीतिअनुसार अघि बढेको छ ।

मन्त्री बन्ने दौडमा भरत केसीसँगै प्रत्यक्ष निर्वाचित सांसदहरू मधुसुदन पौडेल (ललितपुर), जयराम थापा (काठमाडौं) र समानुपातिक सांसद बिन्दु श्रेष्ठको नाम चर्चामा छ। यद्यपि मन्त्री आकांक्षीको संख्या धेरै भएकाले अन्तिम नामावली दिउँसो सार्वजनिक हुने एमाले स्रोतको भनाइ छ ।

बागमतीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ मन्त्रालय छन्। कांग्रेस–एमाले गठबन्धनको सरकारमा अघिल्लै मोडलअनुसार कांग्रेसतर्फबाट मुख्यमन्त्रीसहित ८ र एमालेतर्फबाट ६ जना मन्त्री सहभागी हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया