Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक भैरहवामा सुरु

रातो कागज
2 दिन अघि

भैरहवा रुपन्देही, १४ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को संसदीय दलको बैठक भैरहवामा सुरु भएको छ । भैरहवाको रमादा होटलमा अहिले जारी बैठकमा पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्याल, पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत नेताहरू सहभागी छन् ।

संसद्को चालु अधिवेशनको समीक्षा, ‘कुलिङ अफ पिरियड’, संवैधानिक निकायको कामकारबाही लगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बसेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । अहिले संसद्मा जारी संसदीय गतिविधिको समीक्षा, ‘भिजिट भिसा’को आवरणमा भएको भ्रष्टाचारलाई सङ्ख्याको आधारमा सत्तापक्षले सुनुवाइ नगरेको लगायत बहुआयामिक पक्षमा छलफल गर्नेछौँ”, उनले भने ।

सञ्चारकर्मीसँगको कुराकानीमा परियारले संसद्जस्तो सार्वभौम कानुन निर्माण गर्ने विधायिकामा पनि कार्यपालिका सहित पार्टीको हस्तक्षेपका विषयमा छलफल गरिने उल्लेख गरे । उनले भने, “संसद्मा निजामती सङ्घीय विधेयक माथिको ‘कुलिङ अफ पिरियड’ का बारेमा पनि छलफल गर्नेछौँ ।

रास्वपाले गरिरहेको हस्ताक्षर अभियानमा केन्द्रीय नेता तथा सांसदहरू भैरहवा आएको जनाउँदै परियारले लुम्बिनीमा पार्टीको समग्र संरचना निर्माण गर्ने, रुपन्देही ३ मा हुने उपनिर्वाचन लगायत समय सापेक्ष विषयमा छलफल हुने बताए ।

उनका अनुसार बैठकमा विशेषगरी बजेट अधिवेशनमा पार्टीको भूमिका, समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे छलफल हुनेछ । यसअघि रास्वपाले संसदीय दलको बैठक काठमाडौँ बाहिर गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया