नेपाल न्युज बैंक

लन्डन । बेलायतको डाटफोर्डमा रहेका नेपाली समुदायले विगत एक दशकदेखि पूरा गर्न नसकेको एक महत्वाकांक्षी योजना अब सफल बनाउन लागेका छन्।
नेपाली, भारतीय, बङ्गाली र श्रीलंकालीहरुको बाक्लो बसोबास रहेको डाटफोर्डमा रहेको ‘द लाइट अपन द हिल्स् स्प्रिचुअल चर्च’ लाई किनेर नेपालीहरूले त्यहाँ मन्दिर बनाउने सपना पूरा गर्न लागेका हुन् । सञ्चालन गर्न नसकिएको कारण यस्ता चर्चहरूले ओगटेको भू–भाग र भवन बिक्रीमा ल्याउने चलन छ ।
डाटफोर्ड स्वतन्त्र आध्यात्मिकतावादी चर्चले सञ्चालन गर्दै आएको उक्त चर्च सञ्चालन गर्न नसकिने अवस्थामा पुगेपछि विक्रीका लागि राखिएको थियो । ६८५,००० (छ लाख पचासी हजार बेलायती पाउण्ड) मूल्यको उक्त चर्च अब मन्दिरको रूपमा विकसित गरिने भएको हो।
बेलायतमा बसोबास गरिरहेका पोखराका भरत लामिछानेका अनुसार उक्त भवन पहिले क्रिस्चियन धर्मावलम्बीको आस्थाको थलो थियो। अब सोही स्थानमा मन्दिर बनाउने सपना पूरा हुँदैछ ।
उनले भने, ‘कुरा सुन्दा आश्चर्य लाग्ला, तर बेलायतमा यस्तो सामान्य हो। चर्च मात्र होइन, अन्य यस्ता भवन पनि सञ्चालन गर्न नसकिएपछि बेचिन्छन्। बेचिएपछि कोहीले घर बनाउँछ, कोहीले अन्य प्रयोजनमा प्रयोग गर्छ। तर हामी हिन्दू समुदाय मिलेर मन्दिर बनाउँदैछौं ।’
लामिछानेका अनुसार आगामी तिहारसम्म मन्दिर खुल्ने र तुरुन्तै लक्ष्मीको मूर्ति स्थापना गरी पूजा गर्ने योजना छ । ‘तत्काल धेरै परिवर्तन नगरे पनि चर्चको क्रस संकेत हटाएर हिन्दू धर्मसँग सम्बन्धित चिन्ह—जस्तै ॐ वा अन्य कुनै धार्मिक चिन्ह राखेर मन्दिरको रूपमा सञ्चालन गर्न सकिन्छ ।’ उनले भने ।
उक्त चर्च सन् १९५५ मा शिलान्यास भएको हो। त्यस हिसाबले यो लगभग ७० वर्ष पुरानो हो। हाल प्रयोगमा नरहेको र विक्रीका लागि राखिएको उक्त भवन मन्दिरको प्रयोजनका लागि उपयोग गरिने योजना नेपालीहरूले बनाएका हुन् ।
लामिछानेले यो महत्वाकांक्षी योजनामा स्थानीय नेपालीहरूले खुलेर सहयोग गरेको बताउँदै फण्ड संकलन भइरहेकाले भविष्यमा सो स्थानमा रहेको भवनलाई हटाएर सांस्कृतिक तथा धार्मिक हिसाबले पूर्ण मन्दिर बनाउने योजना रहेको बताए ।
डाटफोर्डमा किराना पसल सञ्चालन गर्दै आएका व्यापारी राजेन्द्र जोशीले चर्चलाई मन्दिर बनाउने कुरा कुनै नौलो नभएको बताए ।
उनले भने, ‘चर्च पनि भगवानकै स्थान हो, नाम मात्र फरक हो। सन् २०१९ तिर हामीले मन्दिर बनाउने सोच सुरु गरेका थियौं। अहिले यस योजनासँग ५७० जना जोडिएका छन्। भगवानको कृपा भयो भने हामी सफल हुन्छौं। मन्दिर बनेपछि हाम्रो भावी पुस्ता पनि हाम्रो संस्कारसँग नजिक हुनेछन्। उनीहरूले नैतिक शिक्षा पनि प्राप्त गर्नेछन्। देशबाट टाढा भए पनि परम्परासँग नजिक हुने प्रयास गरेका छौं ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया