Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मिडिया काउन्सिल विधेयकले काउन्सिललाई जिम्मेवार र अधिकारसम्पन्न बनाउने सरोकारवालाहरुले सुझाव

रातो कागज
5 घण्टा अघि

काठमाडौं । मिडिया काउन्सिल विधेयकले मिडिया काउन्सिललाई जिम्मेवार र अधिकारसम्पन्न बनाउने गरी विधेयक निर्माण गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथि छलफल गर्दै सरोकारवालाहरूले मिडिया काउन्सिल विधेयकमा सञ्चार क्षेत्रलाई स्वनियमन र स्वमूल्यांकनको अवधारणामा समेट्नु सकारात्मक पक्ष भएको र यसले काउन्सिललाई जिम्मेवार बनाउने धारणा राखेका हुन् ।

बैठकमा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले काउन्सिललाई वर्गीकरणको बोझबाट मुक्त गरिदिएको बताए । उनले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गर्ने अधिकार काउन्सिललाई दिनु पनि सकारात्मक पक्ष भएको बताए ।

उनले भने, ‘विधेयक समग्रमा राम्रोभन्दा पनि केही सकारात्मक पक्ष समेटेको छ, काउन्सिललाई वर्गीकरणको बोझबाट मुक्त गरिदिएको छ । यसले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गर्ने अधिकार प्राप्त गरेको छ। यो नयाँ विषय हो। अहिलेसम्म प्रेस काउन्सिलले यो गरेको थिएन।’

उनले स्वनियमन र स्वमूल्यांकनको विषय प्रवेश गर्नु सञ्चार क्षेत्रका लागि महत्त्वपूर्ण रहेको बताए । ’मिडियाहरू आफ्ना लागि आफैँ काम गर्छन्, अरू कुनै निकायको आवश्यकता पर्दैन भन्ने ढंगबाट विधेयक आएको छ,’उनले थपे, ’यसले विस्तारै नियमन संस्थाहरू आफैँ हट्नेछन् भन्ने मान्यता बोकेको छ। सञ्चार क्षेत्रमा लगानी र पारदर्शिताको विषय पनि समेटिएको छ। तर विधेयकलाई अझ समृद्ध बनाउन आवश्यक बहस जरुरी छ।’

प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहालले विधेयकले प्रेस काउन्सिललाई स्वतन्त्र, स्वायत्त र सक्षम निकायको रूपमा विकास गरिने गरी समेट्न खोजेको बताए ।

उनले भने, ‘प्रेस काउन्सिललाई पत्रकार क्षेत्रको अनुगमन गर्ने र आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीको सुनुवाइ गर्ने स्वतन्त्र, स्वायत्त र सक्षम निकायको रूपमा विकास गरिनेछ। रेडियो, पत्रपत्रिका, अनलाइन वा अन्य सञ्चारमाध्यम र स्रोताहरूको समेत प्रतिनिधित्व हुने गरी समानुपातिक ढंगले काउन्सिलको अध्यक्ष वा सदस्यहरूको नियुक्ति गरिनेछ।’

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया