Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

भक्तपुरको ‘फिस टनेल एक्स्पो’ : अफ सिजनको कारण लगानी उठाउनै धौ–धौ

नेपाल न्युज बैंक
4 घण्टा अघि

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ राधेराधेमा गत असार छ गतेदेखि सुरु भएको ‘फिस टनेल एक्स्पो २०८२’ को समापन भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्थाद्वारा राधेराधेस्थित रोयल थाई हस्पिटालिटीको खुला क्षेत्रलाई उपयोग गरी सञ्चालन गरिएको एक्स्पो शनिबार साउन १० गते समापन भएको हो ।

एक्स्पोको मुख्य आकर्षणका रूपमा ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल राखिएको थियो भने अन्य सुनामी राइड, रोटे पिङ, कोलम्बस, ड्रागनलगायतका आकर्षक उपकरणहरू प्रदर्शनमा राखिएको थियो ।

एक्स्पोलाई आकर्षक बनाउन कुनै कसुर बाँकी नराख्दापनि अपेक्षा अनुसार अवलोकनकर्ताको उपस्थिति हुन नसकेको आयोजकको गुनासो छ ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा एक्सपो आयोजनाका संयोजक सन्दिप महतले आफूहरुले एक लाख अवलोकनकर्ताको सहभागी रहने लक्ष्य राखेकोमा अफ सिजनको कारण ५० हजार भन्दा माथिले मात्र अवलोकन गरेको जानकारी दिए ।

उनले भने,‘ हामीले एक्स्पोबाट एक लाखको लक्ष्य राखेका थियौं । तर यो अफ सिजनको बेला भएर ५० हजार भन्दा बढि मान्छे आएका छन् । ठिक छ ,हामी मध्यम वर्गमा छौ । यो वर्षाको बेलामा धेरै उत्साह पनि छैन । निराश पनि छैनौं ठिकै अवस्थामा छ ।’

उनका अनुसार ४०–५० लाखको लगानीमा एक्सपोको आयोजना गरिएको थियो । तर, एक्सोबाट नाफामा जाने त कुरै छोडौं लगानी उठाउन पनि धौ–धौ भएको छ । समापनको दिनसम्म जसोतसो लगानी बराबरको आर्थिक संकलन हुने संयोजक महतले विश्वास व्यक्त गरे ।

उनले भने,‘४० देखि ४५ लाखसम्मको लगानी छ । त्यो लगानी उठ्छ भन्ने आजसम्मको डाटाले भन्छ । आजसम्म त हामी माइनस मै छौं, तर ४०–४५ लाखको अन्तरमा उठ्ने आशा छ ।’

एक्यूरियमसँगै १ सय ६० भन्दा बढी प्रजातीका माछाहरु एक्सपोमा राखिएको थियो । जुन नेपालमै पहिलो पटक हो । विशेषगरि बच्चाहरुको लागि लक्षित गरेर आयोजना गरिएको उक्त एक्सपोको उद्देश्य सामुदायिक जीवनको परिचय दिनु रहेको छ ।

उनले भने,‘यो चाँहि विशेषगरि बच्चाहरुको लागि छ । एक्यूरियमसँगै १ सय ६० भन्दा बढी प्रजातीका माछाहरु हामीसँग छन् । यो नेपालमै पहिलो पटक हो । तर एक्सपोको हिसाबले जावलाखेल पछिको दोस्रो हो । भक्तपुरको हिसाबमा पहिलो हो । शैक्षिक एक्सपो जस्तो छ किनकि बच्चाहरुलाई सामुदायिक जीवनको एउटा परिचय दिन खोजेको हो ।’

प्रदर्शनमा नेपाली पाँच लाख रुपैयाँ बराबरको लगभग सात फिटसम्मको माछा राखिएको थियो । तर समयको कारण त्यसको मृत्यु भएकामा दुःख व्यक्त गर्दै उनले भने,‘हामीसँग भएको एउटा ठूलो माछा थियो त्यो नेपाली पाँच लाख रुपैंयाँ पर्दथ्यो तर त्यो मर्यो । लगभग सात फिटसम्मको थियो । अहिले हामीले सँग दुई सय रुपैंयाँदेखि दुई लाखसम्मको माछा पनि छन ।’

सुरुमा छिर्दा साधारण घरमै पाल्ने माछाको एक्यूरियम जस्तो लागे पनि केही अगाडि पुगेपछि टनेलमा पुगिन्छ । जुन एकदमै सुन्दर र आकर्षक छ । काठमाडांै, भक्तपुर  ललितपुर र काभ्रेको पनि धेरै मानिसहरुको उपस्थिति रहेको बताउँदै महतले प्रतिक्रिया पनि धेरै राम्रो आएको सुनाए ।

उनले भने,‘काठमाडांै, भक्तपुर, ललितपुर र काभ्रेको पनि धेरै जना आइरहनु भएको छ । एक्सपोबारे बुझ्न पनि आइरहनु भएको छ । प्रतिक्रिया राम्रै रहेको छ । सुरुमा प्रवेश गर्दा एउटा एक्यूरियम मात्र हो कि जस्तो लाग्नसक्छ । तर अन्तिममा टनेलमा पुगेपछि साँच्चै नै फिस टनेल एक्स्पो नै रहेछ भन्ने महशुस अवलोकनकर्तालाई गराउँछ । यस कारण पनि प्रतिक्रिया राम्रो आएको छ  ।’

उनका अनुसार नेपालमै पहिलो पटक सुनामी भाइरल पिङ समेत प्रदर्शनमा राखिएको थियो । जसको टिकट प्रतिव्यक्ति दुई सय रुपैंया राखिएको थियो भने फिस टनेलमा पाँच वर्षसम्मको बच्चालाई निःशुल्क र त्यो माथिका उमेर समूहलाई १५० रुपैयाँको टिकट राखिएको थियो ।

यस्तै अवलोकनकर्ता बोसन कार्कीले यस्तोखाले फिस एक्स्पोहरुबाट सबै उमेर समूहका विद्यार्थीहरु र बच्चाहरुलाई फिस सम्बन्धी ज्ञान दिन सकिने भएकाले एकदमै राम्रो लागेको प्रतिक्रिया दिए । एक्सपोमा अवलोकनको लागि राम्रो व्यवस्थापन गरिएको पनि उनले जानकारी दिए ।

यस्तै शिशिर ढुंगानाले पनि एक्सपोमा फिस टनेलको अवलोकन गर्न पाउँदा खुसी लागेको बताए । टिकट पनि सर्व शुलभ रहेको बताउँदै पाँच वर्ष भन्दा तलको बच्चालाई निःशुल्क प्रवेशको व्यवस्था गरेकामा राम्रो लागेको बताए । त्यस्तै अर्का अवलोकनकर्ता श्याम महर्जनले बच्चाहरु मात्रै नभई ठूला मानिसहरुले पनि एक्सपोबाट मनोरञ्जन लिन सकिने बताए ।

एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल हुने बताइएको छ। सुरुङ आकारको यस टनेलभित्र आगन्तुकहरू चारैतिर पारदर्शी पर्खालभित्र पौडिरहेका रंगीचंगी समुद्री माछाहरू नजिकबाट हेर्न सक्नेछन्। टनेलभित्र विशेष लाइटिङ र ध्वनि प्रणालीमार्फत समुद्रको वास्तविक वातावरण निर्माण गरिएको आयोजकले जनाएको छ ।

फिस टनेलभित्र करिब १६० प्रजातिका माछाहरू राखिएका छन्। तीमध्ये केही दुर्लभ तथा रंगीन समुद्री जातका माछा नेपालमा पहिलोपटक सार्वजनिक अवलोकनका लागि प्रस्तुत गरिने आयोजकको दाबी छ। यस्तो खालको टनेल बालबालिका, विद्यार्थी तथा जलजीवप्रेमीहरूका लागि ज्ञानवर्धक तथा मनोरञ्जनात्मक माध्यम हुने अध्यक्ष महतले बताए ।

यसका अतिरिक्त, नेपालमै पहिलोपटक परीक्षणमा ल्याइएको ‘सुनामी राइड’ समेत एक्स्पोको अर्को आकर्षण रहेको आयोजकको भनाइ छ। यो राइडमा समुद्री लहरजस्तै हल्लिने अनुभव प्रदान गरिन्छ, जसमा आगन्तुकहरूले वास्तविक सुनामीको धक्का महसुस गर्नेछन्। राइडको डिजाईन पूर्णतः सुरक्षा मापदण्डअनुसार गरिएको आयोजकले जनाएको छ।

 

एक्स्पोमा बालबालिकादेखि युवा वर्ग लक्षित विभिन्न प्रकारका पिङजस्तै रोटे पिङ, कोलम्बस, ड्रागन राइड आदि पनि राखिनेछन्। यसका साथै खानपान, गेम जोन र फोटो स्पटसमेतको व्यवस्था गरिएको छ।

आयोजकका अनुसार एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ। प्रवेश टिकट निःशुल्क र अन्य गतिविधिको भने शुल्क लाग्ने आयोजकले जनाएको छ ।

स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिनु एक्स्पोको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

०००००००००००००

 

 

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया