Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सङ्कटग्रस्त घोषणापछि प्रधानमन्त्री ओली मधेस भ्रमणमा

रातो कागज
2 महिना अघि

जनकपुरधाम, ९ साउनः मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानैदेखि महोत्तरी र बाराको भ्रमणमा छन् । उनले सो क्षेत्रको हवाई अनुगमन तथा निरीक्षण गरेका छन् ।

मधेस प्रदेशका आठ जिल्लामा अहिले खानेपानी तथा सिँचाइको सङ्कट उत्पन्न भएको छ । यसबारे स्थलगत रुपमा जानकारी लिन उनी यहाँ आएका हुन् । उनले महोत्तरी र बाराका विभिन्न आयोजनाको उद्घाटनका साथै स्थानीयलाई सम्बोधन गर्ने क्रम जारी छ ।

मधेस प्रदेशमा यस वर्ष लामो समयदेखि आकासे पानी परेको छैन । नदी तथा खोला, नहर, पोखरीका साथै चापाकलमा पानी अभाव भएपछि मधेस प्रदेशलाई सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । मधेस प्रदेश सरकारले खानेपानी अभाव भएको क्षेत्रमा ट्याङ्कर र दमकलबाट स्थानीयलाई खानेपानी उपलब्ध गराइरहेको छ । जलसतह घटेपछि यहाँ सिँचाइ प्रणालीमा प्रभाव परेको छ । साउनको दोस्रो हप्ता सुरु भए पनि धान रोपाइँ ५० प्रतिशत पनि नभएको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९० प्रतिशत धानखेती रोपाइँ पूरा हुनुपर्नेमा अहिलेसम्म ४७ प्रतिशतमात्र धान रोपाइँ भएको छ । गत वर्ष सो अवधिमा ८० दशमलव ६ प्रतिशत धान रोपाइँ भएको थियो । मधेस प्रदेशमा पाँच लाख ४२ हजार ५८० हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टर जमिनमा धानखेती भइरहेको छ । नदी र नहरको पानी तथा बोरिङ एवं पम्पको सहयोगमा धान रोपाइँ भएको हो । धान रोपिएको खेतमा पानी अभाव भएको छ । धानका बेर्ना सुक्न थालेका सर्लाहीका किसान रामनरेश महतोले बतार्ए ।

सिँचाइ अभावले धान उत्पादनमा कमि आए त्यसको असर कूल गार्हस्थ्य उत्पादन जिडिपी मा पर्ने मन्त्रालयलले जनाएको छ । चुरेक्षेत्रमा जथाभावी दोहनसँगै मधेसमा पानीको स्रोत कम हुँदै गएको वातावरण विद्हरुको भनाइ छ ।

सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि मधेसका किसानलाई के– कस्ता सुविधा दिनेबारे स्पष्ट हुन नसकिएको प्रा डा योगेन्द्र यादवले बताए । ‘घोषणा गरेरमात्र हुँदैन आवश्यक मापदण्डका आधारमा काम गर्नुपर्छ”, उनले भने ।

मधेस प्रदेश सरकारले भने प्राथमिकताका आधारमा खानेपानी समस्या समाधान गर्न डिपबोरिङ जडान गर्ने योजना सुरु गरेको प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले राससलाई बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया