Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सिरहामा लागुऔषधसहित दुई पक्राउ, नगद, ब्राउन सुगर र सुनका गहना बरामद

नेपाल न्युज बैंक
10 घण्टा अघि

सिरहा । सिरहाको लहान नगरपालिका–११ स्थित पडरिया टोलबाट लागू औषधसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषधको कारोबारमा संलग्न रहेको आशंकामा छापा मार्दा लाखौं नगद, सुन बराबरका गरगहना तथा ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा लहान–११ का २८ वर्षीय मिथलेश चौधरी र २४ वर्षीय राज नन्दन चौधरी रहेका छन् । चौधरीको घरमा खानतलासी गर्दा ११३.९१ ग्राम ब्राउन सुगर (प्लास्टिकसहित), नेपाली नगद रु. २,७५,३००, भारतीय रुपैयाँ १,२५०, सुन जस्तो देखिने तिलहरी १ थान, नेकलेस १ थान, डिजिटल तराजु, मोबाइल १ थान, कैंची तथा अन्य लागू औषध कारोबारमा प्रयोग हुने सामाग्री फेला परेको प्रहरीको भनाइ छ ।

 

त्यसैगरी राज नन्दन चौधरीको साथबाट १०.७१ ग्राम ब्राउन सुगर (प्लास्टिकसहित), नगद रु. २,१००, र मोबाइल १ थान बरामद गरिएको छ। दुबैलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि सिरहा जिल्ला अदालतमा म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । अदालतबाट ५ दिनको म्याद स्वीकृत गरिएको हो ।

 

जम्मा बरामद लागुऔषधको मात्रा प्लास्टिकसहित १२४.६२ ग्राम, प्लास्टिक बाहेक ११८.६१ ग्राम रहेको छ भने बरामद नगद नेपाली रुपैयाँ २,८६,७१० पुगेको छ। प्रहरीका अनुसार लागुऔषध कारोबारविरुद्ध कडा निगरानी र कारबाही अभियान जारी रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया