Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

शिक्षा ऐन जारी नभएको भन्दै क्रान्तिकारीले गर्यो शैक्षिक हड्तालको घोषणा

News and Updates
12 घण्टा अघि

काठमाडौं । असार १५ मा शिक्षा ऐन जारी नगरेपछि नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ ।

संगठनले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी व्यापारीहरुको प्रभावमा परी शिक्षा ऐन रोकिएको आरोपसमेत लगाएको छ ।

संगठनका अध्यक्ष बिरेन्द्र शाहले सत्तासिन एमाले–काँग्रेसले आफ्ना मान्छेहरुको चाहना अनुसार नै शिक्षा ऐन अड्काएर राखेकाले आफूहरुले हड्ताल घोषणा गर्नुपरेको बताए ।

संघीयता आएको लामो समय वितिसक्दासम्म पनि पूरानै ढाँचामा शैक्षिक क्षेत्र चल्नुमा व्यापारिक मनसाय रहेको बताउँदै शाहले भने,‘बिचौलिया र शैक्षिक माफियाहरुको चलखेलमा वर्तमान ओली सरकार शिक्षालाई गरिवको पहुँचबाट थप टाढा लग्दैछ ।’ ‘यदि निःशुल्क, समान र वैज्ञानिक शिक्षा प्रणाली लागु गर्नेगरी ऐन आएन भने शैक्षिक दलालहरुका व्यापारिक महलहरुमा आगो दन्काउनपछि पर्ने छैनौं, ’शाहले थपे ।

संगठनका महासचिव उषाकिरण आजादले आउन लागेको शिक्षा ऐन संविधानको मर्म र भावना विपरित निजी र व्यापारिकरण गर्न पाउने योजनासहित ल्याइएको आरोप लगाए ।

आजादले ऐनमा प्रस्टसँग ठूला नेता, सरकारी कर्मचारीका छोरा–छोरीले निजी विद्यालयमा पढाउन नपाउने व्यवस्था उल्लेख गरिनुपर्ने माग राखे । कार्यक्रममा संगठनका उपाध्यक्ष रुपा बुढा मगर, सचिवहरु गोविन्द विष्ट, हरि विष्ट, कोषाध्यक्ष कमला परियारलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

संघर्षका कार्यक्रमः–

१० असार २० देखि २२ गतेसम्म संसद र दलका प्रमुखलाई ज्ञापनपत्र बुझाउने ।

२० आसार २३ र २४ गते देशैभर कोणसभा गर्ने ।

३० असार २६ र २७ गते सरोकारवालाहरुलाई पत्राचार गरी जनदबाब सिर्जना गर्ने ।

४० आसार ३० गते प्रदर्शन गर्ने ।

५० आसार ३२ गते पुत्ला दहन तथा मसाल जुलुस गर्ने ।

६० साउन २ गते देशभरका शैक्षिक संस्था बन्द तथा एकदिने देशव्यापी शैक्षिक हड्ताल गर्ने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया