जनकपुर । धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरताु नाराका साथ धनुषामा २२औं राष्ट्रिय धान दिवस मनाइएको छ । धनुषाको रम्दैयास्थि राष्ट्रिय धानवाली अनुसन्धान केन्द्रमा धान रोप्नुका साथै हिलो खेलेर रष्ट्रिय धान दिवस मनाइएको छ ।
सो क्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि अर्यालले नेपालले धान निर्यात गर्न नसके पनि कम्तिमा आयात गर्नुनपरोस भन्ने किसिमले उत्पादनमा जोड दिन आवश्यक रहेको बताए ।
अर्यालले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने संकल्पका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
प्रजिअ अर्यालले किसानलाई स्वेदशी बिउ प्रयोग गर्न सुझाव दिए । विदेशी बिउले उचित उत्पादन दिन नसक्ने भएकाले उनले स्वदेशी बिउलाई नै प्रयोग गर्न किसानहरुलाई आग्रह गरे । उनले किसानहरुमा जनचेतना फैलाउन पनि आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा राष्ट्रिय धानवाली अनुसन्धान केन्द्रका संयोजक मथुरा यादवले चैते धानको खेती गर्नसके धानको माग देशभित्रै पूरा गर्न सकिने जानकारी दिए । उनले कृषि उत्पादनमा धानले १५ प्रतिशत योगदान गरिरहेको र कुलग्राहस्तमा ५ प्रतिशत योगदान रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान धनुषाका प्रमुख तिलक शर्मा प्रसाई, किलिनिका धनुषाका नवराज नेपाल, धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्कालगायत अन्य पदाधिकारीसहित स्थानीय किसान र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।