Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सुनचाँदी व्यवसायीको आन्दोलन धनुषामा पनि चर्कियो, सम्पूर्ण पसल बन्द

News and Updates
2 महिना अघि

जनकपुर । धनुषा जिल्लाका सम्पूर्ण सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले जिल्लाभरका पसलसमेत बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

 

 

आन्दोलनका सिलसिलामा शुक्रबार जनकपुरधाम सुनचाँदी व्यवसायी संघ र नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले नीति तथा कार्यक्रममा दुई प्रतिशत विलासिता कर लगाउने सरकारी निर्णयप्रति आपत्ति जनाए ।

 

 

पत्रकार सम्मेलनमा जनकपुरधाम सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन ठाकुरले सरकारले विलासिता करको नाममा दुई प्रतिशत बढाउँदा उपभोक्ता समक्ष ६ प्रतिशत पुग्न जाने बताए ।

 

 

उनले यसो भयो भने भारतमा सुनको मुल्य सस्तो पर्ने र सोही कारणले सुन खरिद गर्नेहरु भारतीय बजार जान बाध्य हुने जानकारी दिए । सरकारले कर नहटाए सम्पूर्ण सुनचाँदी व्यापारीले पसल बन्द गरेर पलायन हुने स्थिति सृजना हुने अध्यक्ष ठाकुरले बताए ।

 

 

यसबाट लाखौं कालिगढ र सुनचाँदी व्यवसायमा आवद्ध व्यक्तिहरु वेरोजगारीको शिकार हुने उनको भनाई छ । उनले सरकारलाई विलासिता कर हटाउन माग गर्नुका साथै केन्द्रिय संघको निर्णय अनुसार आफूहरुले थप आन्दोनका कार्यक्रमहरु सशक्त बनाउँदै जाने चेतावनी समेत दिए । व्यवसायीहरुले काठमाडौंलगायत देशभरका सहरहरुमा आन्दोलनका कार्यक्रमहरु गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया