News and Updates

विराटनगर । ‘देशका लागि काम गर्छु, विपद् आए अग्रपंक्तिमा उभिन्छु’ भन्ने अठोट बोकेका डोटीका सुरज साउद फर्किएनन् । मनसुनजन्य विपद्को तयारीस्वरुप गरिएको प्रदेशस्तरीय अभ्यासमा भाग लिएका सशस्त्र प्रहरीमा कार्यरत गोताखोर सुरज बिहीबार सप्तकोशीको पानीमा हराए ।
उनका परिवार, साथी, सहकर्मी र देशले चार दिनसम्म आशाको उज्यालो खोजिरहे पनि आइतबार बिहान ११ बजे त्यो आशा कोशीको किनारमै एक शवमा बदलिदियो ।कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रबाट खटिएको डिएसपी पुरुषोत्तम भण्डारीको टोलीले कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक सुरजको शव निकालयो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले सुरजको शव भेटिएको पुष्टि गरेका हुन् । उनका अनुसार गोताखोर र तालिम प्राप्त टोली चार दिनदेखि खोजीमा संलग्न रहेका थिए ।
सुरजसँगै बेपत्ता भएका अर्का सशस्त्र प्रहरी सुरक्षाकर्मी हरदेव राजवंशीको शव भने शुक्रबार नै भेटिएको थियो । दुवैजना सप्तकोशी नदीमा भइरहेको अभ्यासमा सहभागी थिए । अरुको जीवन जोगाउनका लागि अभ्यासमा गएका उनीहरूले आफ्नै जीवन गुमाएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया