काठमाडौं । अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा विद्यालय नजिकै भएको विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् । मृत्यु र घाइते हुनेमध्ये ९७ प्रतिशत विद्यालयका विद्यार्थी रहेको स्थानीय सञ्चारमाध्यम टोलो न्युजले जनाएको छ ।
शनिबार प्रान्तीय राजधानी असदाबादस्थित शागी माध्यमिक विद्यालय नजिकै विस्फोट भएको हो । विद्यालय छेउको एउटा घरमा खानी उत्खनन तथा कुनार–नुरिस्तान राजमार्गमा चट्टान फुटाउन प्रयोग गरिने विस्फोटक पदार्थ तयार पार्ने काम भइरहेको थियो ।
विस्फोटको वास्तविक कारण खुल्न सकेको छैन । विद्यालय नजिकै खानी कम्पनीको स्वामित्वमा रहेको उक्त स्थानमा विस्फोटक पदार्थ भण्डारण तथा तयारी गर्दा लापरबाही भएको हुन सक्ने आशंकामा स्थानीय अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।
विस्फोटबाट विद्यालय भवनमा समेत क्षति पुगेको छ । झ्यालका सिसा फुट्नुका साथै छतका केही भाग खस्दा विद्यार्थीहरू घाइते भएका थिए । घटनाका बेला कक्षाकोठामा रहेका विद्यार्थीहरू विस्फोटको आवाजसँगै त्रसित भएका थिए ।
घटनाका एक प्रत्यक्षदर्शी विद्यार्थी तसलले बिहान कक्षाकोठामा बसिरहेका बेला अचानक विस्फोट भएको बताए । विस्फोटसँगै झ्यालका सिसा फुटेर धेरै सहपाठी गम्भीर घाइते भएको उनले टोलो न्युजलाई बताएका छन् ।
विद्यालयका कर्मचारी लतिफुल्लाहका अनुसार विस्फोटपछि विद्यार्थीका पुस्तक, कापी, कलम र जुत्ताहरू विद्यालय परिसरमा छरिएका थिए । घाइते विद्यार्थीका आफन्त नजिबुल्लाहले घटनास्थल पुग्दा विद्यार्थीहरू रगतले लतपतिएको र विद्यालयका झ्यालहरू फुटेको अवस्था देखेको बताए ।
कुनार प्रान्तको सूचना तथा संस्कृति विभाग प्रमुख सामिउल हक हकबयानका अनुसार घाइतेहरूलाई कुनार प्रान्तीय अस्पतालमा पु¥याइएको थियो । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि छिमेकी नान्गरहार प्रान्तको क्षेत्रीय अस्पताल पठाइएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार सामान्य घाइते केही उपचारपछि घर फर्किएका छन् भने अस्पतालमा रहेका अन्य घाइतेको अवस्था सन्तोषजनक रहेको छ । घटनापछि विद्यालय तथा शैक्षिक संस्थान नजिक विस्फोटक पदार्थ भण्डारण र प्रयोग गर्ने व्यवस्थाप्रति सुरक्षा चिन्ता बढेको छ । अफगानिस्तानको शिक्षा मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै घाइते विद्यार्थीको उपचार र प्रभावित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले पनि घटनाको निन्दा गर्दै घाइतेहरूको तत्काल उपचारको व्यवस्था गर्न आग्रह गरेका छन् । यसअघि गत अगस्टमा अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालय परिसरमा भएको ह्यान्ड ग्रिनेड आक्रमणमा ९ देखि १४ वर्ष उमेर समूहका ४० भन्दा बढी बालबालिका घाइते भएका थिए ।







