१० आश्विन २०८३, शनिबार
कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै 

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ ।

कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको छ । संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोग्दै आएका समस्या, संघीयतालाई थप प्रभावकारी र बलियो बनाउन अपनाउनुपर्ने उपाय तथा प्रदेशहरूबिचका असल अभ्यास आदानप्रदानका विषयमा सम्मेलनमा छलफल हुने भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयतामा देखिएका चुनौती र प्रदेशहरूले गरेका असल अभ्यासबारे छलफल गर्दै आर्थिक समृद्धि र सुशासनको बाटो पहिल्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए ।

सम्मेलनको तयारी तथा समन्वयको जिम्मेवारी कोशी प्रदेश योजना आयोगलाई दिइएको छ । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीका अनुसार सातै प्रदेशका मुख्यमन्त्रीसँग आवश्यक समन्वय भइसकेको छ । सम्मेलनमा प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता तथा सम्बन्धित सरकारी अधिकारीहरूको समेत सहभागिता रहनेछ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार असोज २२ गते सबै मुख्यमन्त्रीको उपस्थितिमा सम्मेलनको उद्घाटन हुनेछ । त्यसपछि प्रदेशहरूले गरेका असल अभ्यास, प्रदेशले भोग्दै आएका समस्या तथा समाधानका उपायबारे छलफल गरिनेछ ।

सम्मेलनमा प्रदेश र स्थानीय तह तथा संघीय सरकारबिचको समन्वय, कानुनी समस्या र प्रदेशका साझा सवालका विषयमा समेत अन्तरक्रिया हुनेछ । प्रदेशहरूबिच साझेदारी र सहकार्यका सम्भावनालाई समेत सम्मेलनले प्राथमिकता दिने जनाइएको छ ।

कार्यक्रमअन्तर्गत कोशी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सहभागी मुख्यमन्त्रीहरूलाई विराटनगर आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गराउने कार्यक्रमसमेत तय गरिएको छ ।

उपाध्यक्ष निरौलाका अनुसार पहिलो पटक आयोजना हुन लागेको सम्मेलनलाई आगामी दिनमा नियमित बनाउने र सातै प्रदेशका मुख्यमन्त्रीबिच समन्वय तथा सहकार्यका लागि स्थायी प्रकृतिको फोरमका रूपमा विकास गर्ने तयारी गरिएको छ ।

कोशी प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद भट्टले सम्मेलनमा प्रदेशहरूबिचको साझेदारी र बहुप्रदेशीय सहकार्यका विषयमा छलफल हुने भएकाले सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे । उनले प्रदेशहरूका साझा समस्या पहिचान गरी समाधानका लागि सहकार्य गर्ने वातावरण बनाउन सम्मेलन महत्त्वपूर्ण हुने बताए ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा उत्पादित वस्तु अन्य प्रदेशमा लैजाने तथा अन्य प्रदेशका उत्पादन कोशीमा ल्याउने गरी व्यापार प्रवद्र्धनका लागि समझदारी गर्ने तयारी भइरहेको बताएका छन् ।

सम्मेलनलाई व्यवस्थित बनाउन कोशी प्रदेश योजना आयोगले आवश्यक समिति गठन तथा कार्य विभाजन गरी तयारीलाई अघि बढाएको जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि