कानूनमन्त्री सोबिता गौतमले तीन वर्षीया गरिमाको बलात्कारपछि हत्या भएको घटनाले आफूलाई गहिरो रूपमा विचलित बनाएको बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै मन्त्री गौतमले घटनाको निष्पक्ष अनुसन्धान, प्रमाणको सुरक्षा र दोषीलाई कानूनबमोजिम कडा कारबाही हुनुपर्नेमा जोड दिएकी छन्।
उनले गरिमाको घटनाप्रति नागरिकस्तरमा देखिएको आक्रोश स्वाभाविक भए पनि कानूनको शासन र संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर सजाय निर्धारण गर्न नसकिने स्पष्ट पारेकी छन्। नेपालको संविधानले मृत्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको उल्लेख गर्दै उनले सरकार, संसद् र अदालतको आ–आफ्नो संवैधानिक भूमिकालाई सम्मान गर्नुपर्ने बताएकी छन्।
मन्त्री गौतमले गरिमाको घटनालाई ‘मिडिया ट्रायल’ मा परिणत नगर्न पनि आग्रह गरेकी छन्। अनुसन्धान पूरा नहुँदै निष्कर्षमा पुग्ने, अपुष्ट विवरण फैलाउने तथा सामाजिक सञ्जालमार्फत मुद्दाको फैसला गर्न खोज्ने प्रवृत्तिले न्याय प्रक्रियालाई कमजोर बनाउन सक्ने उनको भनाइ छ।
उनले निर्मला पन्त प्रकरणबाट पाठ सिक्दै संवेदनशील आपराधिक घटनामा प्रारम्भिक अनुसन्धान, प्रमाणको सुरक्षा र निष्पक्ष अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्।
यसैबीच, आफूले विगतमा बोलेको भिडियोका केही अंशलाई सन्दर्भविहीन रूपमा काटेर ‘बलात्कार सामान्य हो’ भन्ने अर्थमा फैलाइएको भन्दै मन्त्री गौतमले त्यसको खण्डन गरेकी छन्। उनले बलात्कार कहिल्यै सामान्य वा स्वीकार्य हुन नसक्ने स्पष्ट पार्दै आफूले त्यतिबेला पीडित महिलामाथि समाजले थप लज्जा, दोष र बहिष्कारको व्यवहार गर्न नहुने विषय उठाउन खोजेको बताएकी छन्।
मन्त्री गौतमका अनुसार गरिमाका आमाबुबासँग गृह मन्त्रालयमा भएको भेटपछि जघन्य आपराधिक घटनामा विद्यमान कसूर तथा सजायसम्बन्धी व्यवस्थाको पुनरावलोकन गरी कडा दण्ड निर्धारणका लागि कानून तर्जुमा गर्न सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेश गर्ने गरी सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्ने निर्णय भएको छ।
गरिमाका बाबुले ‘आफ्नो छोरीलाई जोगाउन नसके पनि गरिमाको घटनाबाट हुने कानूनी सुधारले अरू धेरै छोरी जोगिऊन्, भन्ने धारणा राखेको पनि उनले उल्लेख गरेकी छन्।
मन्त्री गौतमले कानून कमजोर भए सुधार गर्ने, प्रक्रिया कमजोर भए बलियो बनाउने र राज्य चुकेको भए जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनले आफ्नो स्टाटसको अन्त्यमा लेखेकी छन्, ८८‘गरिमाका लागि न्याय र हरेक छोरीका लागि सुरक्षा।







