४ भाद्र २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

उद्धव थापालाई साधारण सदस्यबाटै निष्कासित गर्ने राप्रपाको निर्णय, कमल थापाले लेखे नोट अफ डिसेन्ट

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको निर्णय र निर्देशनविपरीत नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको आरोपमा थापालाई पार्टीको साधारण सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

बैठकपछि अध्यक्ष लिङ्देनले बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको निर्णय र निर्देशनविपरीत पार्टीको नाम प्रयोग गरी नेकपा एमालेका मुख्यमन्त्रीका प्रस्तावित किरण थापा मगरलाई समर्थन गरिएको बताए। उक्त समर्थन पार्टीको कुनै पनि प्रकारको औपचारिक निर्णय वा समर्थन नभएको उनको भनाइ छ।

लिङ्देनका अनुसार पार्टीले पटक–पटक निर्देशन दिँदा पनि प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले निर्देशन उल्लंघन गर्दै पार्टीको तर्फबाट समर्थन रहेको भन्दै पत्र बुझाएका थिए।

पार्टीले स्पष्टीकरण सोध्दा समेत उनले समयमै जवाफ नदिएको र समर्थनसमेत फिर्ता नलिएको भन्दै उनीमाथि कारबाही गरिएको हो ।

उनले भने, ‘बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको निर्णय र निर्देशनविपरीत पार्टीको नाम राखेर नेकपा एमालेका मुख्यमन्त्रीका प्रस्तावित किरण थापा मगरलाई समर्थन गरिएको विषय पार्टीको कुनै पनि प्रकारको निर्णय र समर्थन होइन। पार्टीले बारम्बार निर्देशन दिँदा पनि निर्देशन उल्लंघन गर्दै प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पार्टीको तर्फबाट समर्थन छ भन्ने पत्र बुझाउनुभयो। स्पष्टीकरण सोध्दा समयमा जवाफ नदिनुभएको र समर्थन पनि फिर्ता नलिएकोले आजको कार्यसम्पादन समितिको बैठकले उहाँलाई पार्टीको साधारण सदस्यबाट समेत पदमुक्त गर्ने निर्णय गरेको छौँ।’

अध्यक्ष लिङ्देनले उक्त घटनालाई पार्टी अनुशासन उल्लंघनको गम्भीर विषयका रूपमा लिइएको बताए। उनले एमालेमाथि विगतदेखि नै सत्ता केन्द्रित गतिविधिका क्रममा अन्य दलहरूबीच चलखेल गर्ने गरेको आरोपसमेत लगाए।

उनले भने, ‘अनुशासन उल्लंघनको विषय हो, त्यो एउटा पाटो भयो। अर्कोतर्फ एमालेले विगतमा जसरी सत्ता केन्द्रित गतिविधिमा दलहरूका बीचमा खेल्ने काम गथ्र्यो, त्यो अहिले पनि गरेको प्रस्ट रूपमा आयो।’

लिङ्देनले एमालेले बागमती प्रदेश सरकार निर्माणका क्रममा राप्रपासँग औपचारिक रूपमा सहयोग नमागेको तथा पार्टीलाई कुनै पत्रसमेत नलेखेको बताए। पार्टी कार्यालयमा आएर राप्रपाको समर्थन आवश्यक रहेको भन्दै औपचारिक आग्रह नगरी प्रदेशसभा सदस्यहरूलाई प्रभावित गर्ने प्रयास गरिएको उनको आरोप छ ।

उनले भने, ‘एमालेले पार्टीलाई औपचारिक रूपमा सरकार निर्माणको क्रममा कुनै सहयोगको आग्रह गरेको छैन । कुनै पत्र पनि लेख्ने र पार्टी कार्यालयमा आएर राप्रपाको समर्थन चाहियो भनेर आग्रह पनि नगरीकन प्रदेशसभा सदस्यहरूलाई हातमा लिने खालको प्रयास गरियो। अहिले यो जुन परिणाम बाहिर आएको छ, यसबाट चलखेल भन्ने कुरा प्रस्टै हुन्छ।’

अनुशासनको कारबाहीका क्रममा पार्टीभित्र केही फरक मत देखाउने प्रयाससमेत योजनाबद्ध रूपमा भएको राप्रपाको निष्कर्ष रहेको उनले बताए। यद्यपि, पार्टीले यस्ता अनुशासन उल्लंघनका विषयलाई अब गम्भीरतापूर्वक लिने स्पष्ट पारे।

लिङ्देनले उद्धव थापामाथि कारबाही गरिसकिएको र पार्टीको निर्णयविपरीत सरकारमा सहभागी हुने अन्य नेतामाथि पनि कारबाही हुने चेतावनी दिए।

यसबीच, थापामाथि कारबाही गर्ने निर्णयमा राप्रपाभित्र मतभेद देखिएको छ । बैठकमा नेता कमल थापाले उद्धव थापालाई कारबाही गर्ने निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। उनी थापामाथि कारबाही गर्न नहुने पक्षमा उभिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि