बर्दिया । बर्दिया जिल्ला कारागारमा रहेका कैदीबन्दीहरू सामान्य बिरामी पर्दासमेत आधारभूत औषधी र उपचारबाट वञ्चित भएका छन्। जेलभित्र रहेका बिरामीहरूले सामान्य मानिने जीवनजलसम्म नपाएको आफन्तहरूले गम्भीर आरोप लगाएका छन् ।
अहिले कारागारभित्रका केही कैदीबन्दीहरूमा झाडापखाला र गम्भीर किसिमको लुतोको समस्या देखिएको छ । तर, उनीहरूको उपचारका लागि आवश्यक औषधी कारागार प्रशासनसँग उपलब्ध नभएको कैदीबन्दीका आफन्तहरुले बताएका छन् ।
बिरामी परेका कैदीबन्दीका आफन्तहरूले यस विषयमा कारागार प्रशासनसँग कुरा गर्दा कुनै सुनुवाइ नभएको र उल्टै गैरजिम्मेवार जवाफ पाउने गरेको गुनासो गरेका छन् । आफन्तहरूका अनुसार प्रशासनले “बजेट छैन, औषधी खानुपरे आफैं किनेर ल्याऊ” भन्दै हप्काउने र गैरजिम्मेवार बन्ने गरेको छ ।
सामान्य औषधी र जीवनजल समेत नहुँदा अहिले जेलभित्रका बिरामी कैदीबन्दीको अवस्था चिन्ताजनक बन्दै गएको छ । राज्यको नियन्त्रणमा रहेका व्यक्तिहरूको स्वास्थ्य रक्षा गर्नु कारागार प्रशासन र सरकारको दायित्व भए पनि बर्दिया कारागार प्रशासन भने चरम लापरवाही र अटेरीपन प्रदर्शन गरिरहेको आफन्तहरूको भनाइ छ ।
नागरिक अधिकारकर्मी तथा आफन्तहरूले यो गम्भीर समस्यातर्फ तुरुन्त ध्यान दिन र कारागारभित्र औषधी तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
यता बर्दिया कारागारका जेलरले भने कैदीबन्दीका आफन्तहरूले लगाएको आरोप पूर्ण रूपमा निराधार रहेको बताएका छन् । आधारभूत औषधी र सामान्य उपचारबाट कुनै पनि कैदीबन्दी वञ्चित नभएको स्पष्ट पार्दै जेलरले गत आर्थिक वर्ष २०८२/०८३ को बजेट अपुग हुँदा पनि चालू आर्थिक वर्ष २०८३/०८४ को बजेटबाट कट्टा हुने गरी औषधीहरू ल्याएर पूर्ति गरिएको दाबी गरे।
शल्यक्रिया नै गर्नुपर्ने गम्भीर प्रकृतिका बिरामीको हकमा मात्र उनीहरूको परिवारसँग सहयोग र समन्वय माग्ने गरिएको कारागार प्रशासनको भनाइ छ ।







