६ श्रावण २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार

सडकमा कोही जन्मिँदैन

काठमाडाैँ ।  बिहानको पहिलो घाम लाग्नेबित्तिकै सहर ब्यूँझिन्छ। कार्यालयतर्फ हतारिने कर्मचारी, स्कुल जाँदै गरेका बालबालिका, पसल खोल्न लागेका व्यापारी सबैको आँखामा कतै न कतै पुग्नुपर्ने हतार देखिन्छ। तर यही सहरको अर्को कुनामा, सडकको पेटीमा, मन्दिरको आँगनमा, पुलमुनि वा बसपार्कको एक कुनामा रात काटेका केही अनुहार पनि बिस्तारै आँखा खोल्दै हुन्छन्। उनीहरूको दिन पनि सुरु त हुन्छ, तर कतै पुग्नुपर्ने हतारबिना। उनीहरूको मनमा जुन प्रश्न सबैभन्दा पहिले आउँछ, त्यो हो आजको दिन कसरी काट्ने?

हामी सबैले यस्ता मानिस कतै न कतै देखेकै छौँ। कसैले दुई–चार रुपैयाँ थमाउँछौँ, कसैले खाना दिन्छौँ, कसैले दया देखाउँछौँ अनि आ–आफ्नो बाटो लाग्छौँ। तर उनीहरूलाई हेरेर यी मानिस यहाँसम्म कसरी आइपुगे भनेर सोच्ने हामीमध्ये सायद निकै कम होलौँ।

मानवसेवा आश्रमको उद्धार तथा पुनर्मिलन विभागमा काम गर्दा हामीले हजारौँ सडकआश्रित मानिसको जीवन नजिकबाट देख्ने र बुझ्ने मौका पाइरहेका हुन्छाैँ । तमाम यी सबै अनुभवले हामीलाई एउटै कुरा बारम्बार सम्झाउँछ सडकमा कोही जन्मिँदैन।

सडकमा भेटिने हरेक मानिस कुनै न कुनै समय सामान्य परिवारकै सदस्य थिए । कसैको छोरा, कसैकी छोरी, कसैको बुबा, कसैकी आमा। उनको पनि घर थियो, परिवार थियो, सपना थिए। तर जीवनका विभिन्न उतार चढाव, पीडा र परिस्थितिले बिस्तारै उनलाई घरबाट सडकसम्म पुर्‍यायाे ।

धेरैले सडकआश्रित हुनुको एउटै कारण गरिबी ठान्छन्। तर हाम्रो अनुभवले भन्छ गरिबी एउटा कारण मात्र हो, सम्पूर्ण कारण होइन। बेरोजगारी, पारिवारिक विखण्डन, मानसिक स्वास्थ्य समस्या, कुलत, घरेलु हिंसा, सामाजिक बहिष्कार, वृद्धावस्थामा बेवास्ता, अशिक्षा र असहायता यी सबै काररणले मानिसलाई सडकसम्म धकेल्छन्। कहिलेकाहीँ त एउटै घटनाले पनि पुग्छ। परिवारको साथ छुट्नेबित्तिकै मानिसको जीवनको जग नै भत्किन्छ।

हामीले उद्धार गरेका धेरैजसो मानिसले लगभग उस्तै कुरा भनेका छन् “म सडक रोजेर आएको होइनँ, परिस्थितिले ल्यायो।“ यो एउटा वाक्य मात्र होइन, यसभित्र गहिरो पीडा लुकेको हुन्छ।  यो त्यो आवाज हो, जुन हाम्रो समाजले साँच्चै सुन्नुपर्छ।

मानसिक स्वास्थ्य समस्याले गाँजेका मानिसको अवस्था झनै जटिल हुन्छ। उपचार चाहिने मानिसलाई हामी अझै बहुलाहा भनेर टाढा धकेल्छौँ। परिवारले लाज मान्छ, समाजले उपेक्षा र दूरदूर गर्छ, र अन्तिममा ती सबै मानिस सडकमा एक्लै रहन्छन्। मानसिक रोग कुनै अपराध होइन, तर हाम्रो व्यवहारले त्यसलाई सजायजस्तै बनाइदिन्छ।

बालबालिकाको अवस्था झनै संवेदनशील छ। आमाबुबाको सम्बन्धविच्छेद, सौतेनी व्यवहार, घरेलु हिंसा, निरन्तर गालीगलौज वा मायाममताको अभावले धेरै बालबालिकालाई घर छोड्न बाध्य बनाउँछ। उनीहरू सडकमा स्वतन्त्रता खोज्न निस्कन्छन्, तर त्यहाँ त झनै ठूलो जोखिम, शोषण र असुरक्षा पर्खिरहेको हुन्छ।

मानवसेवा आश्रममा उद्धारपछि परिवारसँग पुनर्मिलन गराउने क्रममा हामीले देखेका दृश्य शब्दमा भन्न गाह्रो छ। वर्षौंदेखि हराएको छोरा घर फर्कँदा आमाको आँखाबाट झरेको आँसु, मरिसक्यो भनी ठानेको बुबालाई फेरि अँगालो हाल्ने सन्तान, वा वर्षौंपछि भेटिएकी दिदीलाई देखेर रोइरहेको भाइ यस्ता दृश्यले हामीलाई हरेक पटक सम्झाउँछ, उद्धार भनेको केवल एक व्यक्तिलाई सडकबाट आश्रममा ल्याउनु मात्र होइन, बरु एउटा सिंगो परिवारको आशा फेरि जगाउनु हो।

तैपनि, एउटा प्रश्न हामी सबैले आफैँलाई सोध्नुपर्छ  हामी समयमै सचेत भएको भए, के यी मानिस साँच्चै सडकसम्म पुग्नुपर्ने थियो?
सायद धेरै अवस्थामा जवाफ पुग्नुपर्ने थिएन नै हुन्छ ।

छिमेकीले घरभित्रको हिंसाको आवाज सुनेर बेवास्ता नगरेको भए, स्कुलले पढाइ छोडेको बालकको खोजी गरेको भए, परिवारले मानसिक स्वास्थ्य समस्यालाई लुकाउनुको सट्टा उपचार गराएको भए, समाजले अपमानको सट्टा अपनत्व दिएको भए,सायद आज यत्ति धेरै मानिस सडकमा हुन्थेनन् हाेला।

बेवारिसे सडकआश्रित मानव हुनु कुनै एक व्यक्तिको असफलता होइन, यो हाम्रो समाजकै सामूहिक चुनौती हो। यसको दीर्घकालीन समाधान पनि सामूहिक प्रयासबाटै सम्भव छ । सरकार, स्थानीय तह, प्रहरी, सामाजिक संस्था, सञ्चारमाध्यम र हरेक नागरिकले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह सके मात्र सडकआश्रितको संख्या घटाउन  सकिन्छ ।

मानवसेवा आश्रमको उद्धार तथा पुनर्मिलन विभागको नेतृत्व गरिरहँदा मेरो विश्वास स्पष्ट छ हरेक सडकआश्रित व्यक्तिले जीवनमा दोस्रो अवसर पाउनुपर्छ। उनलाई दया होइन, सम्मान चाहिएको हो। सहयोग मात्र होइन, आफैँ उभिन सक्ने अवसर चाहिएको हो। शरणस्थल मात्र होइन, परिवार र समाजसँग फेरि जोडिने वातावरण चाहिएको हो ।

हामीले उद्धार गर्ने हरेक व्यक्तिमा हामी नयाँ सम्भावना देख्छौँ। हामी शरीर मात्र उद्धार गर्दैनौँ, हराइसकेको आत्मविश्वास, सम्बन्ध र सम्मान फर्काउने प्रयास पनि गर्छौ। तर यो काम मानवसेवा आश्रमले एक्लैले पूरा गर्न सक्दैन। यसका लागि समाजका हरेक व्यक्ति संवेदनशील र जिम्मेवार हुनपर्छ ।

अन्त्यमा, म सबैलाई एउटै कुरा भन्न चाहन्छु, भोलि बाटोमा कतै कुनै सडकआश्रित व्यक्ति देख्नुभयो भने, केवल दयाको दृष्टिले मात्र नहेरिदिनुहाेला। एकछिन रोकिएर सोच्नुहाेला ऊ पनि कसैको आफ्नाे मान्छे हो, उसको पनि आफ्नै कथा छ।  त्यो कथा आज उसको मात्र भए पनि, भोलि हाम्रै समाजको कथा बन्न सक्छ। किनकि सडकमा कोही जन्मिँदैनन्। तर सडकमा कसैले पनि जीवन बिताउनु नपर्ने समाज भने, हामी सबै मिलेर अवश्य बनाउन सक्छौँ ।
लेखकः मदन भुसाल

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि