२ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सरकारको नियतमाथि प्रश्न छैन, गलत निर्णय भए तुरुन्त सच्याउनुपर्छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमाथि कुनै शंका नरहेको तर जनतालाई असर पर्ने निर्णय भए तत्काल सच्याउनुपर्ने बताएका छन्।

मधेश प्रदेशको रौतहटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सरकारका निर्णयहरू व्यवहारमा जनहितविपरीत देखिए परिवर्तन गर्न कुनै हिच्किचाहट गर्न नहुने बताए।

‘सरकारको नियतमा समस्या छैन,  निर्णयमा कहिलेकाहीँ त्रुटि हुन सक्छ, तर त्यस्ता निर्णयलाई समयमै सच्याउनुपर्छ ।’ उनले भने, ‘कुनै निर्णय कसैको हितका लागि गरिएको भए पनि व्यवहारमा त्यसले हानि पुर्‍याउँछ भने त्यसलाई परिवर्तन गर्नु सरकारको दायित्व हो ।’

सभापति लामिछानेले सरकारलाई काम गर्ने पर्याप्त समय दिनुपर्ने उल्लेख गर्दै जनजीविकामा प्रतिकूल असर पार्ने निर्णयहरू आवश्यक परे रातारात पनि संशोधन गर्नुपर्ने धारणा राखे। अहिलेको सरकारले गरिखाने वर्ग, श्रमिक तथा आम नागरिकलाई मर्का पर्ने गरी कुनै निर्णय नगर्ने उनको विश्वास थियो ।

उनले सरकार र पार्टी दुवै जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै गलत काम भए खबरदारी आवश्यक रहेको बताए । ‘सरकार वा मन्त्रीहरूले राम्रो काम गर्न सकेनन् भने पार्टीले हस्तक्षेप गरेर सही दिशामा ल्याउँछ । ’उनले भने ।

पार्टी संगठन विस्तारबारे बोल्दै लामिछानेले रास्वपाले कुनै पनि समुदाय वा भूगोललाई विभाजनको दृष्टिले नहेरेको स्पष्ट पारे । ‘पहाडले पार्टी छाड्यो, मधेशले जात छाड्यो भन्ने भाष्य हामीले कहिल्यै बनाएका छैनौं,’ उनले भने ।

रास्वपालाई विश्वास गरेर पार्टी प्रवेश गर्ने सबैलाई सम्मान गरिने उल्लेख गर्दै उनले मधेशका कार्यकर्ताप्रति विशेष आभार व्यक्त गरे। ‘नेपालमा सामान्यतः पार्टीमा प्रवेश गरेर टिकट वा पद खोज्ने प्रवृत्ति छ। तर मधेशमा पहिले रास्वपाका उम्मेदवारलाई जिताएर त्यसपछि पार्टीमा प्रवेश गर्ने संस्कार देखियो। यसले हामीलाई थप जिम्मेवार बनाएको छ, ’ उनले भने।

लामिछानेले रास्वपालाई ‘नयाँ राजनीतिक घर’ बनाउने अभियानमा सहभागी सबैलाई धन्यवाद दिँदै जनविश्वासलाई केन्द्रमा राखेर पार्टी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि