३१ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार

सञ्चार माध्यमलाई व्यवस्थित बनाउँदै पत्रकारको क्षमता विकासमा जुट्छौं : प्रतिष्ठान अध्यक्ष दाहाल

विराटनगर । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका नवनियुक्त अध्यक्ष दीपक दाहालले प्रदेशभित्रका सञ्चार माध्यमलाई कानुनअनुसार व्यवस्थित गर्दै पत्रकारको क्षमता विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

प्रतिष्ठान गठनपछि नेपाल न्यूज बैंकसँगको कुराकानीका क्रममा अध्यक्ष दाहालले प्रतिष्ठानले आमसञ्चार क्षेत्रको संस्थागत विकास, नियमन र व्यावसायिक क्षमता अभिवृद्धिमा केन्द्रित भएर काम गर्ने बताए । उनले प्रतिष्ठानले कानुनले दिएको अधिकार र जिम्मेवारीभित्र रहेर सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउने उल्लेख गरे ।

प्रदेश सरकारले सोमबार गठन गरेको प्रतिष्ठानको अध्यक्षमा दाहाल नियुक्त भएका हुन् । प्रतिष्ठानको प्रदेश प्रेस रजिस्ट्रारमा सुनसरीका पत्रकार लिलाराज भट्टराई नियुक्त भएका छन् ।

सदस्यहरूमा शान्ति दाहाल (मोरङ), रमेशचन्द्र अधिकारी (धनकुटा), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर), विष्णुप्रसाद पोखरेल (झापा), अर्जुन राजवंशी (झापा) र ध्रुव ढकाल (सुनसरी) रहेका छन् ।

प्रदेश प्रेस रजिस्ट्रार भट्टराईले नियुक्त भए लगत्तै प्रतिष्ठानले रेडियो तथा टेलिभिजनको नवीकरण प्रक्रिया सुरु गरिसकेको जानकारी दिए । उनका अनुसार १०० वाटदेखि एक हजार वाट क्षमतासम्मका रेडियो तथा टेलिभिजनको नवीकरण भइरहेको छ ।

उनले प्रदेश सरकारको अधिकारक्षेत्रभित्र पर्ने सञ्चार माध्यमलाई असार मसान्तभित्र नवीकरण गर्न आग्रह गर्दै आगामी आर्थिक वर्षदेखि नवीकरण प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीबाट सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

कोशी प्रदेश सरकारले आमसञ्चार सम्बन्धी ऐन, २०८२ अनुसार गठन गरेको प्रतिष्ठानले प्रदेशभित्र सञ्चालनमा रहेका आमसञ्चार माध्यमको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा अभिलेखीकरणको जिम्मेवारी निर्वाह गर्नेछ । साथै स्वतन्त्र, मर्यादित र जिम्मेवार पत्रकारिताको विकास तथा सञ्चार क्षेत्रको संस्थागत सुदृढीकरणमा पनि प्रतिष्ठानले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको