काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको छ।
जसको कारण कोशी गण्डकी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै,कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
त्यस्तै,कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई , कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति कोशी र बागमती प्रदेशका हिमाली भू–भागका धैरै स्थान, गण्डकी प्रदेशको हिमाली भू–भागको केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा तराईमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।
मनसुन सक्रिय भई भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।







