२७ असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हिँडाएर गरियो गणेशको उद्धार, बचाउन सकिएन ज्यान : गम्भीर जलनमा सही उद्धार किन महत्वपूर्ण ?

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीलाई घटनास्थलबाट हिँडाएर उद्धार गरिएको घटना र उपचारका क्रममा भएको उनको निधनले नेपालमा गम्भीर जलनका बिरामीको उद्धार र उपचार प्रणालीबारे नयाँ बहस छेडेको छ ।

ट्राफिक नियम पालना गराउने क्रममा महानगर प्रहरीले उनि चढेको बाइकमा ह्वील लक गरेपछि आवेशमा आएका नेपालीले बिहीवार दिउँसो आफ्नै बाइकको पेट्रोल शरिरमा खन्याएर आगो लगाएका थिए । उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा उनको दुखद् निधन भएको भएको थियो ।

नेपालीलाई जलेको अवस्थामा प्रहरीले हिँडाएरै अस्पताल पु¥याएको भिडियो सामाजिक सञ्जालमा छरपस्टै भएको थियो । घटना आकस्मिक भएको र तुरुन्त उद्धार गर्ने क्रममा आगो निभिसकेपछि पछाडिबाट धकेल्दै ट्याक्सी रोक्नका लागि त्यसो गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले दाबी गरेको छ ।

तर, आगोले ६० प्रतिशत शरिर जलाएको अवस्थामा उनलाई हिँडाएर अस्पताल लैजाने तरिका ठिक थियो ? वा अन्य कुनै विशेष साबधानीस् अपनाउनु पर्ने थियो यस विषयमा नेपाल न्यूज बैंकले बर्न चिकित्सकहरूसँग कुराकानी गरेको छ ।

इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा.अनिल धितालका अनुसार जलनका अधिकांश बिरामीलाई समयमै उचित उद्धार र विशेषज्ञ उपचार उपलब्ध गराउन सके ज्यान बचाउन सकिन्छ । तर शरीरको ठूलो भाग जलेको, विशेषगरी अनुहार, मुख र छातीमा जलन भएको अवस्थामा बाहिरी घाउभन्दा पनि श्वासप्रश्वास प्रणालीमा पर्ने असरले बिरामीको अवस्था निकै जटिल बन्न सक्छ ।

डा.धितालका अनुसार गणेश नेपालीको अनुहारमा गम्भीर जलन भएको थियो । न्यूज बैंकसँगको कुराकानीमा उनले नेपालीको अवस्था गम्भीर हुनुको मुख्य कारण आगोका कारण श्वासमार्गमा परेको असर (इनहेलेसन इन्जुरी) भएको थियो ।

उनका अनुसार यस्ता बिरामीलाई हिँडाएर वा सामान्य तरिकाले घटनास्थलबाट सार्दा थप जटिलता आउन सक्छ । त्यसैले उद्धारका क्रममा बिरामीको श्वासप्रश्वास, रक्तसञ्चार र शरीरको अवस्थालाई ध्यानमा राख्दै प्रशिक्षित चिकित्सकीय टोलीले सुरक्षित रूपमा अस्पताल पुर्याउनुपर्ने हुन्छ ।

उनले भने, ‘उहाँलाई भेन्टिलेसनमा राखेर राख्दा पनि चेस्ट कम्प्रेसन भइसकेको थियो । त्यसले अवस्था अझ जटिल बनाएको थियो, त्यस्तो अवस्था भयो भने इन्डिया अथवा अन्य कुनै ठाउँमा लगेको भए पनि बचाउन सक्ने केस थिएन । तर यस्तो जलनका बिरामीलाई हिँडाएर वा सामान्य तरिकाले सार्दा थप जोखिम हुन्छ । त्यसैले चिकित्सकीय टोलीले सुरक्षित रूपमा उद्धार गर्नुपर्ने हो तर हिँडाएर उद्धार गरियो ।’

यसै सन्दर्भमा ग्लोबल हेल्थ मिडिया प्रोजेक्टले जलनकाे आकस्मिक उपचार शृङ्खला के हो भन्ने भिडियोमा देखाएको कुरा पनि यहाँ समावेश गरेका छौं । उक्त भिडियोमा जलेको अवस्थामा २० मिनेटसम्म चिसो पानीले पखाल्ने, सफा प्लास्टिकले छोप्ने र अस्पताल लैजानुपर्ने गम्भीर अवस्थाहरूका बारेमा प्राथमिक उपचारका चरणहरू प्रस्तुत गरेको छ । यसले घाउमा बरफ वा घरेलु पदार्थ नलगाउन र फोकाहरू नफुटाउन चेतावनी दिँदै, केमिकल वा गहिरो चोटमा तत्काल चिकित्सकको परामर्श लिन सुझाव दिइएको छ ।

जलनको लागि अस्पताल कहिले जानुपर्छ ?

भिडियोमा उल्लेख भएअनुसार जब कसैलाई जलनको आपतकालीन अवस्था हुन्छ, पहिले जलनलाई चिसो बनाउनु पर्छ । जलिएको तन्तु सुन्निन्छ, त्यसैले जलन नजिकको गहना वा कसिलो लुगा फुकाल्नुहोस् । त्यसपछि २० मिनेटसम्म चिसो पानीले जलनमा पानी बगाउनुहोस्। यसले जलनलाई चिसो बनाउँछ, सफा गर्छ र दुखाइ कम गर्न मद्दत गर्छ। अब निर्णय गर्नुहोस् कि व्यक्तिलाई अस्पताल लैजानुपर्छ कि घरमै हेरचाह गर्न सकिन्छ। गम्भीर जलन भएको व्यक्तिलाई सकेसम्म चाँडो, ६ घण्टाभित्र अस्पतालमा उपचार गर्नुपर्छ । जलन भएका व्यक्तिहरू सुरुमा ठीक देखिन सक्छन् तर पहिलो दिनमा जलिएको छालाबाट धेरै तरल पदार्थ बाहिर निस्कन्छ । उनीहरू झट्कामा जान सक्ने जोखिममा हुन्छन् ।

जलनमा परेका कस्ता व्यक्तिलाई आकस्मीक रुपमा अपस्ताल लैजानु पर्छ ?

बच्चाहरू वा वृद्ध व्यक्तिहरूको जलन, अनुहार, हात, जोर्नी वा जननाङ्गमा भएको जलन, र गहिरो वा ठूलो जलन । गहिरो जलन प्रायः आगो वा विद्युतबाट हुन्छ । यस्तो जलन सुक्खा देखिन्छ र छालाको रङ खैरो, जलेको वा सेतो हुन सक्छ ।

यो छुन कडा हुन्छ । यदि गहिरो जलनमा थिच्नुभयो भने सेतो हुँदैन किनकि नसाहरू क्षतिग्रस्त भएका हुन्छन् । गहिरो जलन दुख्दैन । ठूलो जलनले शरीरको १० प्रतिशत भन्दा बढी भाग ढाक्छ । एउटा व्यक्तिको हत्केला र बन्द औँलाहरूले कुल छालाको सतहको करिब १ प्रतिशत प्रतिनिधित्व गर्छ । यदि जलन भएको ठाउँमा छालाको परिवर्तन छ र त्यो व्यक्तिको १० वटा हातको आकारभन्दा ठूलो छ भने, अस्पताल लैजानुहोस्। विद्युत वा रसायनबाट भएको जलन वा धुवाँ श्वासमा गएको व्यक्तिलाई सधैं अस्पतालमा उपचार गर्नुपर्छ ।

यदी यो जलन महिलाको हातमा छ र कुहिनाभन्दा माथिसम्म फैलिएको छ । यो गम्भीर जलन हो । उनलाई नजिकको अस्पताल लैजानुपर्छ । जलन चिसो बनाइसकेपछि यसलाई सफा र भिजेको कपडाले ढाक्नुहोस्। स्लिङले हातलाई माथि राख्छ र आराम दिन्छ। अस्पताल जाँदै गर्दा जलन भएको व्यक्तिलाई उबचबअभतबmय िजस्तो दुखाइ कम गर्ने औषधि दिन सकिन्छ, बारम्बार सानो घुट्को पानी खुवाउनुहोस्, र न्यानो राख्नुहोस् ।

सम्झनुहोस्, गम्भीर जलन भनेको गहिरो वा ठूलो, जोर्नी वा अनुहार, हात वा जननाङ्गमा भएको जलन हो । यस्ता जलनको लागि तुरुन्त अस्पतालको हेरचाह खोज्नुहोस् ।

यो जानकारी हामीले ग्लोबल हेल्थ मिडिया प्रोजेक्टबाट साभार गरेका हौं । ग्लोबल हेल्थले दुर्गम ठाउँ र कम पढेका मान्छेका लागि जलन सम्बन्धि प्राथमिक उपचारका भिडियोहरुहरु बनाउँदै आएको छ । जसमा जलन भैइसकेपछि के गर्ने कसरी अगाडि बढ्ने जानकारी मुलक भिडियो सामग्री प्रस्तुत गरेको छ ।

थप जानकारीका लागि जलनको प्राथमिक उपचार सम्बन्धि भिडियो हेर्नुहोस् :

नेपालमा पछिल्ला वर्षहरूमा आगलागी, तातो पदार्थ, विद्युत्, रसायन तथा अन्य कारणबाट हुने जलनका घटना गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएका छन् । चिकित्सकहरूका अनुसार जलनको गम्भीरता शरीरको कति भाग जलेको छ भन्ने मात्र होइन, कुन भाग जलेको छ भन्ने कुराले पनि निर्धारण गर्छ । अनुहार, मुख र छातीमा भएको जलनले श्वासमार्ग सुन्निने, फोक्सोमा असर पर्ने र अक्सिजनको कमी हुने जोखिम बढाउँछ ।

जलनको उपचारका लागि नेपालका ठूला अस्पतालहरूमा आईसीयू, बर्न युनिट, शल्यक्रिया तथा छाला प्रत्यारोपणजस्ता सेवा उपलब्ध हुँदै गएका छन् । जलन उपचारका लागि आवश्यक जनशक्ति, प्रविधि र विशेषज्ञता पनि विस्तार हुँदै गएको दाबी गरिए पनि गम्भीर प्रकृतिका बिरामीलाई अझै भारतलगायत विदेशी मुलुकमा रिफर गर्नुपर्ने अवस्था कायमै छ ।

विशेषज्ञहरूका अनुसार गम्भीर जलनका बिरामीको उपचारमा पहिलो केही घण्टा अत्यन्त महत्वपूर्ण मानिन्छ । घटनास्थलबाट सुरक्षित उद्धार, तत्काल प्राथमिक उपचार, श्वासमार्गको व्यवस्थापन र छिटोभन्दा छिटो विशेषज्ञ उपचार केन्द्रमा पुर्याउन सके मृत्युको जोखिम उल्लेख्य रूपमा घटाउन सकिन्छ ।

गणेश नेपालीको घटनाले गम्भीर जलनका बिरामीको उपचारमा अस्पतालको सेवा मात्र नभई घटनास्थलमै हुने उद्धार प्रक्रिया पनि उत्तिकै महत्वपूर्ण रहेको विषयलाई फेरि एकपटक उजागर गरेको चिकित्सकहरूको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि