काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार सुजित कुमार श्रेष्ठ यतिबेला प्रतिनिधिहरूमाझ चर्चाको केन्द्रमा छन्। व्यवसाय, सामाजिक क्षेत्र र विभिन्न संघ–संस्थामा सफल नेतृत्वको पहिचान बनाएका श्रेष्ठले अब आफ्नो अनुभव र क्षमतालाई देश र जनताको हितमा प्रयोग गर्ने उद्देश्यसहित सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्।
लामो समयदेखि विभिन्न व्यावसायिक, सामाजिक तथा सामुदायिक संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका श्रेष्ठ सफल व्यवसायीका रूपमा परिचित छन्। नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरसम्मको अनुभव हासिल गरेका उनले विभिन्न क्षेत्रका मानिसहरूसँग काम गर्दै नेतृत्व, व्यवस्थापन र परिणाममुखी कार्यशैलीको बलियो छवि निर्माण गरेका छन्।
सामान्यतः आफ्नो–आफ्नो क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका व्यक्तिहरू राजनीतिमा प्रवेश गर्दा त्यसलाई सकारात्मक रूपमा हेरिने गरिन्छ। सफल व्यवसाय, संस्थागत नेतृत्व र सामाजिक योगदानमार्फत पहिचान बनाएका व्यक्तिहरूले राजनीतिमा नयाँ सोच, व्यावसायिक दक्षता र नतिजामुखी कार्यसंस्कृति भित्र्याउने अपेक्षा गरिन्छ। यही कारणले पनि सुजित श्रेष्ठको राजनीतिक यात्रालाई धेरैले आशाका साथ हेरिरहेका छन्।
श्रेष्ठका अनुसार उनले व्यक्तिगत लाभ वा स्वार्थका लागि राजनीति रोजेका होइनन्। बरु देश, समाज र भावी पुस्ताको भविष्य निर्माणमा योगदान पु¥याउने उद्देश्यले आफूले स्थापित व्यवसायलाई समेत दोस्रो प्राथमिकतामा राख्दै राजनीतिक यात्राको सुरुआत गरेका हुन्। देशले अनुभवी, सक्षम र इमानदार नेतृत्व खोजिरहेको वर्तमान अवस्थामा आफ्नो ज्ञान, सीप र अनुभव राष्ट्रका लागि उपयोग गर्न चाहेको उनको भनाइ छ।
आदिवासी जनजाति क्लस्टरतर्फ उम्मेदवारी दिएका श्रेष्ठले पार्टीभित्र समावेशी प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आदिवासी जनजाति समुदायसहित सबै वर्ग, क्षेत्र र समुदायका सदस्यहरूको आवाज केन्द्रीय तहसम्म पु¥याउन आफूले सशक्त भूमिका खेल्ने उनको दाबी छ। पार्टीलाई अझ लोकतान्त्रिक, उत्तरदायी र जनतासँग प्रत्यक्ष जोडिएको संगठन बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहने विश्वास उनले व्यक्त गरेका छन्।
देश तथा विदेशमा हासिल गरेका अनुभवले नीति निर्माण, संगठन विकास र नेतृत्व व्यवस्थापनमा आफूलाई थप सक्षम बनाएको श्रेष्ठ बताउँछन्। उनले महाधिवेशन प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षाको विषय नभई पार्टी र देशलाई आवश्यक पर्ने सक्षम नेतृत्व निर्माणको अभियान भएको उल्लेख गर्दै आएका छन्।
‘राजनीति मेरो लागि पद प्राप्त गर्ने माध्यम होइन, समाज र राष्ट्रलाई केही फर्काउने अवसर हो,’ श्रेष्ठले भने । उनले आफ्नो अनुभव, कार्यक्षमता, इमानदारी र समर्पणलाई मूल्याङ्कन गर्दै मतदान गर्न आग्रह गरेका छन्।
प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीको भावी नेतृत्व चयन गर्ने भएकाले प्रतिनिधिहरूको निर्णयले रास्वपाको आगामी दिशा तय गर्ने विश्वास गरिएको छ। यही सन्दर्भमा सुजित कुमार श्रेष्ठले आदिवासी जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्य पदमा आफूलाई विजयी गराई समावेशी, सक्षम र परिणाममुखी नेतृत्व निर्माणमा योगदान दिन सम्पूर्ण प्रतिनिधिहरूसँग हार्दिक अपिल गरेका छन्।
राजनीति, व्यवसाय र सामाजिक सेवाबीचको सन्तुलित अनुभव बोकेका सुजित श्रेष्ठको उम्मेदवारीलाई धेरै प्रतिनिधिहरूले आशा र भरोसाको दृष्टिले हेरिरहेका छन्। सफल व्यवसायीदेखि राष्ट्रिय राजनीतिसम्मको उनको यात्रा अब महाधिवेशन प्रतिनिधिहरूको मतमार्फत नयाँ अध्यायमा प्रवेश गर्ने प्रतीक्षामा छ।







