काठमाडौं । नेपालमा यस वर्ष मनसुन आगमन अझै केही दिन ढिला हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार सरदरमा जुन १३ मा नेपाल भित्रिने मनसुन यस वर्ष हालसम्म प्रवेश गरेको छैन ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विभागले भू–उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आगमन केही दिन पर सर्न सक्ने जनाएको हो।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायम रहेकाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार प्रशान्त महासागर क्षेत्रमा एलनिनो विकसित भइसकेको छ र यसको प्रभाव क्रमशः बलियो बन्दै गएको छ ।
एलनिनोका कारण दक्षिण एसियाली मनसुनी प्रणाली प्रभावित हुने तथा नेपालमा मनसुन कमजोर बन्न सक्ने सम्भावना देखिएको छ। यही कारणले मनसुन आगमनमा ढिलाइ हुन सक्ने विभागको निष्कर्ष छ ।
विगतका वर्षहरूमा पनि एलनिनोको प्रभावका कारण मनसुन ढिलो प्रवेश गरेको विभागले जनाएको छ । सन् १९७२, १९८२, १९८३, १९८७, १९९२, १९९७, २००२, २००९, २०१६, २०१९ र २०२३ मा मनसुन सरदर मितिभन्दा ढिलो नेपाल प्रवेश गरेको थियो। ती वर्षहरूमा मनसुन जुन १४ देखि जुन २७ सम्मका विभिन्न मितिमा भित्रिएको तथ्यांक विभागसँग रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।
विभागले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा सार्वजनिक गरिने भएकाले नागरिकलाई आधिकारिक मौसम बुलेटिन र सूचनामा ध्यान दिन आग्रह गरेको छ।
मनसुन ढिलो भित्रिने सम्भावनासँगै कृषक, जलस्रोत तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूले आवश्यक तयारी र सतर्कता अपनाउनुपर्ने देखिएको छ। विभागले आगामी दिनमा मनसुनी गतिविधिबारे थप स्पष्ट जानकारी उपलब्ध गराउने जनाएको छ।







