काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट आफ्ना परिवारका सदस्य गुमाएका परिवारहरूको समूह ‘संरक्षण पीडित समाज बर्दिया’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरक्षण संस्थाहरू तथा सम्बन्धित सरकारी निकायलाई लक्षित गर्दै खुला पत्र सार्वजनिक गर्ने घोषणा गरेको छ।
समूहले ललितपुरस्थित याला माया केन्द्रमा खुला पत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको जनाएको छ। कार्यक्रमका क्रममा खुला पत्रको औपचारिक वाचन, पीडित परिवारका सदस्यहरूको अनुभव प्रस्तुतिकरण, घटनाहरूको दस्तावेजीकृत विवरण सार्वजनिक तथा सञ्चारकर्मीहरूलाई प्रमाण सामग्री वितरण गरिने बताइएको छ।
समूहले जारी गरेको विज्ञप्तिमा बर्दियामा सन् २०१९ यता बाघको आक्रमणबाट ३८ जनाको मृत्यु भएको तथा बाघ संरक्षणसम्बन्धी ‘ट्याक्स टू’ अभियानको अवधिमा नेपालभर ६८ जनाले ज्यान गुमाएको दाबी गरिएको छ। ती घटनाहरूलाई संरक्षण नीतिको प्रत्यक्ष परिणाम भएको आरोप समूहले लगाएको छ।
खुला पत्रमार्फत समूहले विभिन्न संरक्षण संस्था तथा सरकारी निकायमाथि मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि पर्याप्त कदम नचालेको, स्थानीय समुदायको सुरक्षालाई बेवास्ता गरेको तथा संरक्षण कार्यक्रम सञ्चालनका क्रममा प्रभावित समुदायको आवाज नसुनेको आरोप लगाएको छ।
विज्ञप्तिअनुसार खुला पत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरक्षण संस्था, सरकारी निकाय, दाता संस्था, संयुक्त राष्ट्रसंघीय संयन्त्र, विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमसहित १६० भन्दा बढी निकायलाई पठाइनेछ।
समूहले १४, ३० र ६० दिनभित्र विभिन्न माग पूरा गर्न सम्बन्धित निकायहरूलाई अल्टिमेटम दिएको जनाएको छ। मागहरूमा सार्वजनिक रूपमा जिम्मेवारी स्वीकार गर्ने, समुदायको सुरक्षाका लागि आपत्कालीन उपाय लागू गर्ने, स्वतन्त्र मूल्याङ्कन गराउने तथा भविष्यका संरक्षण निर्णयमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने विषय समावेश छन्।
समूहले मागहरू पूरा नभए थप आन्दोलन, कानुनी प्रक्रिया तथा अन्तर्राष्ट्रिय स्तरमा विषय उठाउने चेतावनी दिएको छ।







