रामेछाप । मन्थली नगरपालिका–८ चिसापानीमा वडा कार्यालय र स्थानीयवासीको सहकार्यमा सडक किनारलाई हरित बगैँचामा रूपान्तरण गरिएको छ ।
फूल तथा फलफूलका बिरुवा रोपेर सजाइएको सडकले अहिले आकर्षक स्वरूप लिएको छ भने यसले स्थानीय स्तरमा वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याएको छ ।
रामेछापको सदरमुकाम मन्थलीबाट चिसापानी जाने सडकअन्तर्गत गाई खुरादेखि चिसापानीसम्म सडक किनारमा विभिन्न प्रजातिका फलफूल तथा फूलका बिरुवा रोपिएका छन् । ‘हरित सडक’ निर्माण गर्ने लक्ष्यका साथ मन्थली नगरपालिका–८ वडा कार्यालयले यो अभियान सञ्चालन गरेको हो ।
वडाध्यक्ष गोपाल श्रेष्ठका अनुसार आफूहरू निर्वाचित भएपछि ०८० सालदेखि अभियान सुरु गरिएको थियो । त्यसयता सडक किनारमा करिब एक हजार बिरुवा रोपिएको उनले बताए ।
‘सडकलाई हराभरा र आकर्षक बनाउने उद्देश्यले स्थानीय समुदायलाई परिचालन गरेर अभियान चलायौँ,’ श्रेष्ठले भने, ‘स्थानीयको सक्रिय सहभागिताका कारण अभियान सफल भएको छ ।’
उनका अनुसार सडक किनारमा लगाइएका बिरुवाको संरक्षण र स्याहार सम्भारमा समेत स्थानीयवासीको महत्त्वपूर्ण भूमिका रहेको छ । यसले सामुदायिक सहकार्यबाट विकासका काम प्रभावकारी रूपमा सम्पन्न गर्न सकिने सन्देश दिएको उनले बताए ।
हरित सडक अभियानसँगै चिसापानी क्षेत्रमा पर्यटन प्रवद्र्धनलाई पनि प्राथमिकतामा राखिएको वडा कार्यालयले जनाएको छ । सडक क्षेत्रमा बत्ती जडान गर्नुका साथै होमस्टे सञ्चालनको व्यवस्था गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । नेवारी संस्कृति, चिसापानी गढी लगायत यहाँका पर्यटकीय आकर्षण हुन् ।







