मुगु । मुगमकार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोट्र्स फाउन्डेसनको सहकार्यमा सम्पन्न ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धिरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम भएका छन् ।
आइतबार बिहान ६ः४० बजे किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी कुल ५८ जना धावक सहभागी थिए । धार्मिक तथा पर्यटकीय महत्व बोकेको रेस किम्रीबाट सुरु भएर छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर सम्पन्न भएको थियो ।
पुरुषतर्फ धिरबहादुर बुढाले ३ घण्टा ५७ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे । दलबहादुर कुँवर ४ घण्टा २ मिनेट १० सेकेन्डमा दोस्रो तथा चन्द्रबहादुर रावत ४ घण्टा ५ मिनेटमा तेस्रो भए । अर्जुन कुलुङ राई चौथो तथा रमेश लिम्बु पाँचौँ स्थानमा रहे ।
महिलातर्फ सुनमाया बुढाले ५ घण्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरिन् । राममाया बुढा दोस्रो तथा कल्पना बुढा तेस्रो भए । सम्जेदा बुढा चौथो र निर्मला राई पाँचौँ स्थानमा रहेकाे गाउँपालिकाका सूचना अधिकारी सोबिन्द्र मल्लले जानकारी दिए ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागीमध्ये २३ जना अन्तर्राष्ट्रिय मापदण्डका खेलाडी थिए । प्रतियोगितामा दुई जना एलिट, पाँच जना इन्टरमिडिएट, नौ जना एड्भान्स तथा सात जना एक्सप्लोर वर्गका धावकको सहभागिता रहेको थियो ।
अल नेपाल स्पोट्र्स फाउन्डेसनका संजय अधिकारीका अनुसार नेपालका प्रतिष्ठित दौड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका चर्चित धावकहरूको सहभागिताले प्रतियोगिता थप रोमाञ्चक बनेको थियो ।
एभरेस्ट, मञ्जुश्री, चाँगुनारायण, जुम्ला–रारा तथा रारा ट्रेल रनलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथनमा विजयी खेलाडीहरू समेत प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगिताको प्राविधिक सहयोग नेपाल एड्भेन्चर रनिङ महासंघ ले गरेको थियो ।
मुख्य अल्ट्रा रेससँगै स्थानीयस्तरमा पाँच किलोमिटर दूरीको ‘फन रन’ पनि सोमबार सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि अनलाइन तथा अफलाइन दुवै माध्यमबाट दर्ता खुला गरिएको थियो ।
प्रथम छायाँनाथ अल्ट्रा रेसमा धिरबहादुर र सुनमाया प्रथम







