१२ श्रावण २०८१, शनिबार
गण्डकी प्रदेस समाचार

आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध

७ साउन, पोखरा । आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिएको छ ।

पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल (चाइनापुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको जानकारी दिएको हो ।

महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने निर्णय गरेको जानकारी दिए ।

बसपार्क राजमार्गसँगै जोडिएकाले सडक छेउमै साना, ठूला सवारी साधन पार्किङ गर्दा समस्या भएको महानगरको भनाइ छ ।

‘क्युमा बस्ने लामो दूरीका बसमात्रै बाहिर राखिन्छ । बाँकी सबैलाई सडकमा पार्किङ नगर्न सूचना जारी गरेका छौं’, तिमिल्सिनाले भने ।

पोखरा बसपार्क बनाउन २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । यही बसपार्कको जग्गाकै बीच भागमा पृथ्वी राजमार्ग पर्ने भएकाले बसपार्कका लागि १८७ रोपनी छुट्याइएको थियो ।

तर, अधिग्रहण गरिएको लामो समयसम्म काम नहुँदा अहिले अतिक्रमण हुँदै बसपार्ककको जग्गा ४० रोपनीमा खुम्चिएको छ ।

बसपार्कको जग्गामा अनधिकृत बसोबास बढ्दा अधिकांश सवारी साधन बसपार्क बाहिर पृथ्वीराजमार्गकै किनारामा पार्किङ गर्ने गरिएको छ ।

महानगरका अनुसार अहिले बसपार्कभित्र एकैचोटि १ सय १५ वटाभन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्छ ।

बसपार्क क्षेत्रमा सडक पार्किङ बन्द गर्न आज बिहानैदेखि महानगर प्रतिनिधि, ट्राफिक प्रहरीलगायत खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्