काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्ग अन्तरगत गएराति साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । त्यस पछि सोहि बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको हो ।
तीनवटा सवारी साधनमा रहेका जम्मा ६८ यात्रुहरुमध्ये ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचार गराएर तीन जना डिस्चार्ज भइसके पनि बाँकी ३४ जनाको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।







