२८ बैशाख २०८३, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जनतालाई भाषण र नाराले मात्र प्रभाव पार्न सकिदैन, व्यवहार र परिणाम चाहिन्छ : रहबर अन्सारी

काठमाडौं । १६ वर्षसम्म माओवादी विचार र पार्टीमा रहेर मुलुक परिवर्तनको सपना देखेका एक युवा हुन रहबर अन्सारी । तर ति पार्टीमा आवद्ध नेताको व्यवहार र सिद्धान्तको खाडलमा उनी लामो समय टिक्न सकेनन् । त्यसपछि उनले नयाँ बाटो रोजे । परिवर्तनको हुटहुटी बोकेर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी बजाउँदै’ संसद् यात्रामा हिंडे र सदन छिर्न सफल भए ।
बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद तथा उद्योग, वाणिज्य र श्रम समितिका सभापति रहबर अन्सारीको राजनीतिक संघर्षको कथा निकै रोचक छ ।

अन्सारीका बुवा सरकारी डाक्टर(चिकित्सक) हुन् । बुवाको चाहना छोरालाई बैंक म्यानेजर बनाउने थियो तर रहबरको मनमा समाजको असमानताले डेरा जमाएको थियो ।

वि.स.२०६६ सालमा नेकपा (माओवादी केन्द्र) मा आबद्ध हुँदा उनले सोचेका थिए, शासकीय व्यवस्था बदलेर मात्रै निम्न वर्गका मानिसको जीवन बदलिन्छ । तर, संसदीय राजनीतिको दलदलमा फसेपछि पार्टीका नेताहरूको फेरिएको विलासी जीवन र जनताप्रति हराउँदै गएको जवाफदेहिताले उनलाई विद्रोही बनायो ।
अन्सारीले राजनीति आफ्नो लागि पद, प्रतिष्ठा वा पारिवारिक परम्पराको निरन्तरता नभई समाज परिवर्तनको माध्यम बनेको बताउँछन् ।

आफू राजनीतिमा प्रवेश गरेको फेहरिस्त सुनाउँदै उनले आफ्नो परिवारमा राजनीतिमा सक्रिय हुने पहिलो व्यक्ति आफू नै भएको दावी समेत गरे । उनका बुबा सरकारी सेवामा रहेका डाक्टर थिए र परिवारको राजनीतिसँग कुनै सम्बन्ध थिएन।
बुबाको जागिरका कारण देशका विभिन्न ठाउँमा बस्ने अवसर पाएको स्मरण गर्दै उनले त्यही अनुभवले समाज, वर्ग र जनताको वास्तविक जीवन बुझ्न मद्दत गरेको बताए ।

‘म जहाँ–जहाँ पुगेँ, त्यहाँका मानिसहरूको जीवन नजिकबाट देख्ने मौका पाएँ,’ उनले भने, ‘हामीले शिक्षाको अवसर पायौं, राम्रो जीवन पायौं, तर समुदाय र समाजका धेरै मानिसहरूको अवस्था त्यस्तो थिएन । अनेकौं प्रश्नले सँधै मलाई नै सताउने गर्थे,’ उनले विगत सुनाए ।

उनले अध्ययनका क्रममा भारत र अन्य देशसम्म पुगेर अनुभव बटुलेपछि आफ्नै समाजमा केही परिवर्तन गर्नुपर्ने सोच बनाए । उनका अनुसार समाजमा रहेको असमानता, अवसरको अभाव र राजनीतिक बेवास्ताले उनलाई राजनीतिमा सक्रिय बन्न प्रेरित गरेको हो ।

अन्सारीले राजनीति रोज्नु आफ्नो पूर्वयोजना नभएको स्पष्ट पार्दै सुरुवातमा चिकित्सक बन्ने पारिवारिक अपेक्षा रहेको बताए । ‘बुबाको चाहना म पनि डाक्टर बनोस भन्ने थियो,’ उनले भने, ‘तर मलाई मेडिकल क्षेत्रप्रति त्यति रुचि थिएन । जब मैंले साइन्स नलिएर कमर्स पढ्ने निर्णय गरेँ, त्यो परिवारका लागि एक किसिमको झट्का लाग्यो ।’

उनका अनुसार बुबाले पछि बैंकिङ वा व्यवस्थापन क्षेत्रमा स्थिर जीवन बिताउने अपेक्षा गरेका थिए ।
‘उहाँको सपना एउटा राम्रो जागिर होस्, परिवारलाई समय दिन सकियोस्, सन्तुलित जीवन होस्,’ उनले भने, ‘बुवा छोराले बेस्सरी पैसा कमाओस् भनेर चाहना राख्ने व्यक्ति होइन । कम पैसामा पनि एउटा क्वालिटी फ्यामिली लाइफ होस् भनेर चाहना राख्ने व्यक्ति हुन् । अब म यस्तो काममा आए कि उहाँ भन्दा पनि बढी व्यस्त हुने काममा म आइदिए ।’

यद्यपि, उनले आफ्नो विचार र निर्णयमा परिवारले दबाब नदिएको र बुबाले आफूलाई बौद्धिक स्वतन्त्रता दिएको उल्लेख गरे। ‘मैले जुनसुकै बाटो रोजे पनि उहाँले अवरोध गर्नुभएन,’ उनले भने, ‘त्यो नै मेरो लागि सबैभन्दा ठूलो प्रेरणा बन्यो।’
अन्सारीले २०६६ सालदेखि सक्रिय रूपमा राजनीतिमा लागेको र लामो समय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा आबद्ध भएर काम गरेको बताए । उनका अनुसार त्यो पार्टीले सामाजिक परिवर्तन, नयाँ राजनीतिक सोच र राज्य संरचनामा आमूल परिवर्तनको मुद्दा उठाएकाले आफू आकर्षित भएको थियो ।

‘त्यतिबेला मलाई लाग्थ्यो राजनीति नै परिवर्तनको सूत्रधार हो,’ उनले भने, ‘देश र समाज बदल्ने सबैभन्दा प्रभावकारी माध्यम राजनीति नै हो भन्ने विश्वास थियो ।’

तर राजनीतिमा लामो समय बिताउँदै जाँदा उनले पार्टीका सिद्धान्त र नेताहरूको व्यवहारबीच ठूलो अन्तर देख्न थालेको बताए । ‘म जहिले पनि पार्टीभित्र आफ्नो फरक मत राख्थें,’ उनले भने, ‘हामीले बोलेको कुरा व्यवहारमा पनि देखिनुपर्छ भन्ने मेरो धारणा थियो ।’

उनले जनतालाई लामो समयसम्म भाषण र नाराले मात्र प्रभावमा राख्न नसकिने उल्लेख गर्दै अहिले नेपाली जनताको राजनीतिक चेतना धेरै माथि पुगेको बताए । ‘जनताले अब नेताको भाषण मात्र सुन्दैनन्, उनीहरूको व्यवहार पनि मूल्यांकन गर्छन्,’ उनले भने ।

निर्वाचन परिणाम : चेतनाको परिवर्तन

अन्सारीले पछिल्लो निर्वाचन परिणामले यही चेतनाको परिवर्तन देखाएको दाबी गरे । उनले आफ्नो क्षेत्रमा करिब ८० हजार मत खसेको र आफूले ४१ हजारभन्दा बढी मत ल्याएको उल्लेख गर्दै त्यो मत कुनै एक दलका समर्थकबाट मात्र नआएको बताए ।
हाल रास्वपाका सांसद रहेका अन्सारीले विभिन्न राजनीतिक दलका समर्थकले परिवर्तनको अपेक्षासहित आफूलाई मतदान गरेको बताए ।

उनले भने, ‘यसपालि जनताले सबै पार्टीका सभा सुने, कोही एमालेको र्यालीमा घुमेका थिए, कोही नेकपाको र्यालीमा पुगेका थिए, कोही कांग्रेसको र्यालीमा घुमेका थिए । स्टेजमा बसी नेताको वाहवाही गरी माला पनि लगाइदिएका थिए । तर भोट घण्टीमा हालिदिएका छन् । त्यो भनेको जनताले गरेको जवाबी प्रहार हो ।’

उनका अनुसार अहिलेको नेपाली समाजमा राजनीतिक चेतना, सूचना प्रवाह र प्रविधिको पहुँचले जनतालाई अझ सचेत बनाएको छ ।

‘मिडिया, प्रविधि र समयले जनतालाई विश्लेषण गर्न सिकाएको छ, अब नेताले बोलेकै भरमा जनताले विश्वास गर्दैनन्,’ उनले भने ।
अन्सारीले पुराना राजनीतिक दलहरूले जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै सिद्धान्तभन्दा व्यवहार सुधार्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
‘राजनीति जनताको जीवन बदल्नका लागि हो,’ उनले भने, ‘यदि राजनीति नै जनताबाट टाढा भयो भने त्यसको अर्थ समाप्त हुन्छ ।’

अबको २० बर्षमा देश समृद्ध बनाउने लक्ष्य

उनले आगामी २० वर्षको नेपाललाई समृद्ध, जिम्मेवार र जनमुखी राजनीतिक संस्कार भएको देशका रूपमा हेर्न चाहेको बताए । त्यसका लागि राजनीतिमा नयाँ सोच, जवाफदेहिता र व्यवहारिक परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो ।
उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति अन्सारीले नेपाली राजनीतिमा जनताले दिएको पछिल्लो म्यान्डेट पूरानो राजनीतिक शैलीविरुद्धको स्पष्ट प्रहार भएको बताउँछन् ।

उनले विगतका राजनीतिक दल र नेतृत्वले राज्य, समाज र जनतालाई गम्भीर रूपमा नलिएको कारण जनता नयाँ विकल्प खोज्न बाध्य भएको उल्लेख गरे । आफू पनि त्यही परिवर्तनको अभियानसँग जोडिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रोज्नुको कारण जनताको पक्षमा उभिने राजनीति भएको पनि बताए ।

अन्सारीले समानुपातिक प्रणालीबाट सहजै सांसद बन्न सक्ने अवस्था हुँदाहुँदै पनि प्रत्यक्ष निर्वाचन रोज्नुको कारण जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गरेर काम गर्ने चाहना भएको उनको भनाइ थियो ।

‘यदि सांसद बन्नकै लागि मात्र राजनीति गरेको भए म समानुपातिकबाट सजिलै आउन सक्थेँ,’ उनले भने, ‘तर मेरो उद्देश्य केवल संसद् पुग्नु थिएन, जनताको भावना र आवश्यकता बुझेर काम गर्नु थियो ।’

उनले अहिलेको समयमा जनतालाई ठूला–ठूला सैद्धान्तिक भाषणभन्दा प्रत्यक्ष अनुभूति हुने काम आवश्यक रहेको बताए । विगत तीन–चार दशकको राजनीतिले जनतालाई निराश बनाएको उल्लेख गर्दै साना सुधारले समेत जनता उत्साहित हुनु त्यसैको परिणाम भएको उनको धारणा थियो ।
‘आज सामान्य सुधार हुँदापनि जनता अत्यन्त खुसी भइरहेका छन्,’ उनले भने, ‘लामो समयदेखि राज्य प्रणालीले जनतालाई निराश मात्र बनाएको छ । यस्तो अवस्थामा सानो सकारात्मक परिवर्तनले पनि आशा जगाउँछ ।’
उनले अहिलेको राजनीतिक अवस्थालाई जनताको पीडासँग तुलना गर्दै भने, ‘किनभने मैले यसलाई बोल्दाखेरि शब्द ठिक नहोला तर शरीर भरि लुतो लागेको शरीरमा अलिकति पनि कसैले कन्याइदियो भने आनन्द आउँछ । अहिले जनताको अवस्था त्यस्तै भएको छ ।’

सुधारको संकेत, आशावादी जनता

अन्सारीले देशमा व्यापक विकृति र बेथिति रहेको उल्लेख गर्दै सुधारको सामान्य संकेतले पनि जनतामा आशा पैदा गरिरहेको बताए । तर त्यति सामान्य सुधारसमेत दिन नसक्नु राजनीतिक असफलताको चरम अवस्था भएको उनको भनाइ थियो ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तन चाहने मानिसहरूको संगठित प्रयासका रूपमा चित्रित गरे ।

‘राजनीतिबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पीडित भएका, परिवर्तन चाहने र इमान्दार ढंगले काम गर्न चाहने व्यक्तिहरू एक ठाउँमा जुटेका छन्,त्यसैले यो पार्टीप्रति मेरो विश्वास बढ्यो,’ उनले भने ।

उनले आफ्नो सोच, काम गर्ने शैली र राजनीतिक दृष्टिकोण पार्टीसँग मेल खाने भएकाले आफूलाई यही ठाउँ उपयुक्त लागेको बताए ।
बारा–४ बाट निर्वाचन लड्दा आफूले अरु उम्मेदवारजस्तो असम्भव र ठूला आश्वासन नदिएको अन्सारीले बताए । चुनावी अभियानमा जनतासँग गरेको मुख्य प्रतिबद्धता राजनीतिक संस्कार परिवर्तन गर्ने रहेको उनले उल्लेख गरे ।

‘मैले जनतालाई के भनेको थिएँ भने म मालिक बन्न आएको होइन,’ उनले भने, ‘म जनताको प्रतिनिधि बनेर उनीहरुको आवाज उठाउन आएको हुँ ।’

उनले विगतमा जनप्रतिनिधि र जनताबीच मालिक र दासजस्तो सम्बन्ध विकसित भएको टिप्पणी गरे । आफूले त्यसलाई बदल्ने प्रयास गरेको र जनताको सेवकका रुपमा काम गर्न खोजेको बताए ।

अन्सारीका अनुसार जनप्रतिनिधि बनेपछि आफूले शक्ति, प्रभाव वा पहुँचको दुरुपयोग नगरेको दाबी गरे । ‘अहिलेसम्म मेरो नाममा कुनैपनि अस्वाभाविक लाभ लिएको, प्रभावको दुरुपयोग गरेको वा गलत काम गरेको आरोप छैन,’ उनले भने ।
उनले आफ्नो क्षेत्रका जनता अहिले सुरक्षित र सन्तुष्ट महसुस गरिरहेको दाबी गर्दै आफू नीतिगत काममा केन्द्रित रहेको बताए ।
औद्योगिक प्रदूषण रोक्नुपर्छ

अन्सारीले जितपुर–सिमरा क्षेत्रमा औद्योगिक प्रदूषण ठूलो समस्या बनेको उल्लेख गर्दै त्यसलाई आफ्नो प्राथमिक एजेन्डा बनाएको बताए ।

उनका अनुसार उद्योगबाट निस्कने धुँवा, फोहोर र प्रदूषणका कारण स्थानीय जनजीवन प्रत्यक्ष प्रभावित भएको छ ।
‘क्यान्सरका बिरामी बढिरहेका छन्, पत्थरीको बिरामी बढिरहेका छन्, सफा हावा सास फेर्न समेत कठिन भइरहेको अवस्था छ,’ उनले भने ।
उनले जनतालाई सफा हावा, सफा पानी र स्वस्थ वातावरणमा बाँच्ने अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताए । ‘मैले चुनावका बेला जनतालाई प्रदूषण व्यवस्थापन गर्ने प्रतिवद्धता गरेको थिएँ, अहिले त्यसलाई कार्यान्वयनतर्फ लैजाँदै छु,’ उनले भने ।
उद्योग मन्त्रालयसँगको छलफलमा पनि यो विषय कडाइका साथ उठाएको जानकारी दिँदै उनले नीतिगत सुधारमार्फत परिणाम देखाउने गरी काम भइरहेको बताए ।

समिति प्रभावकारी बनाउन ‘रोल मोडल’

उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिलाई प्रभावकारी बनाउने प्रयास भइरहेको अन्सारीले बताए ।
उनले संसदीय समितिहरू विगतमा केवल प्रतिवेदन बनाउने र छलफलमा सीमित हुने गरेको टिप्पणी गर्दै अब त्यसलाई समाधानमुखी बनाउने प्रयास भइरहेको बताए ।
‘यो समिति अब प्रतिवेदन तयार गरेर थन्क्याउने ठाउँ मात्र हुँदैन,’ उनले भने, ‘समस्याको समाधान खोज्ने संयन्त्रका रूपमा यसलाई स्थापित गर्न खोजिएको छ ।’

उनका अनुसार केही बैठकपछि नै समितिको काम गर्ने शैलीमा फरकपन महसुस हुन थालेको छ । सदस्यहरू र सर्वसाधारणले पनि त्यसलाई अनुभव गर्न थालेको उनले उल्लेख गरे ।
प्रधानमन्त्रीसँगको समन्वयमा प्रश्न गर्दा उनले कार्यपालिका र व्यवस्थापिकाको भूमिकालाई फरक ढंगले बुझ्नुपर्ने धारणा राखे । संसद् र सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले संसदीय समितिको काम प्रभावकारी बनाउन मन्त्रालयहरूसँग सहकार्य गरिरहेको बताए ।

उनका अनुसार उद्योग मन्त्रालय र श्रम मन्त्रालयसँग नजिकबाट काम भइरहेको छ । ‘हामीले नीतिगत रूपमा काम गर्दा कार्यपालिकाको सहयोग आवश्यक पर्छ,’ उनले भने ।

प्रधानमन्त्रीसँगको सम्बन्धबारे उठ्ने प्रश्नमा उनले कुनै समस्या नरहेको स्पष्ट पारे । प्रधानमन्त्रीले मधेश प्रदेशका सांसदहरूसँग विशेष छलफल गरेर उनीहरूको कुरा सुनेको र उठाइएका विषयमा कामसमेत भइरहेको उनको भनाइ थियो ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू कार्यपालिकालाई लिड गर्दै हुनुहुन्छ । सम्पूर्ण सांसदहरुसँग चाहे प्रत्यक्ष होस्, चाहे समानुपातिक प्रणालीबाट आउनुभएका होस् हाम्रो कुरा विस्तारमा सुन्नुभएको छ,’ उनले भने, ‘फेरि हामीले बोल्यौं, उहाँले सुन्नुभयो, कुरा सकियो भन्ने कुरा होइन त्यो मिटिङ सकाएदेखि अर्को दिनदेखि नै हामीले ति कुराहरुमा डेलिभरी आएको महसुस गरेका छौं ।’
अन्सारीले विगतमा व्यक्तिगत सम्बन्ध र पहुँचका आधारमा काम हुने गरेको टिप्पणी गरे । त्यस्तो प्रणालीले समग्र जनता र राज्यलाई फाइदा नपुग्ने उनको भनाइ थियो ।

‘पहिले व्यक्तिगत सम्बन्धका आधारमा काम हुन्थ्यो,’ उनले भने, ‘त्यसले सीमित व्यक्तिलाई लाभ दिन्थ्यो, तर अहिले संयन्त्रमार्फत काम भइरहेको छ ।’

उनले अहिले जनताले न्याय पाउने र काम हुने प्रक्रियामा कमी नभएको दाबी गरे । सरकार र सांसदबीच समन्वय नभएको भन्ने भ्रम नराख्न आग्रह गर्दै उनले अहिलेको समन्वयकै कारण डेलिभरी सम्भव भइरहेको बताए

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि