काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले देशबाहिर रहेका नेपाली केवल श्रमशक्ति मात्र नभई ज्ञान, अनुभव र राष्ट्रिय भावनाको महत्वपूर्ण स्रोत भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा गैरआवसीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले प्रवासमा रहेका नेपालीले नेपालसँग जोडिएको बौद्धिक र भावनात्मक योगदान दिइरहेको उल्लेख गरे ।
उनका अनुसार गैरआवसीय नेपाली संघले विश्वभर रहेका नेपालीलाई केवल सञ्जालमा जोड्ने मात्र नभई उनीहरूको अनुभव, क्षमता र चिन्तनलाई नेपालसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
उनले भने,‘देशबाहिर रहेको नेपालको ठूलो जनशक्ति केवल श्रमको जनशक्ति मात्र होइन् । त्यो ज्ञान, अनुभव र राष्ट्रिय भावनाको जनशक्ति पनि हो । यही सन्दर्भमा गैरआवसीय नेपाली संघको भूमिका अत्यन्त महत्वपूर्ण छ । यस संस्थालाई विश्वभर रहेका नेपालीलाई केवल सञ्जालमा बाँध्ने काम मात्र गरेको छैन् । नेपाली अुनभव, क्षमता र चिन्तनलाई नेपालसँग जोड्ने काम पनि गर्दै आएको छ ।’
उनले सार्वजनिक गरिएको पुस्तकलाई केवल प्रकाशन सामग्रीको रूपमा नभई राष्ट्रिय बहसको प्रारम्भिक दस्तावेजका रूपमा लिनुपर्ने धारणा राखे ।
उनका अनुसार ति पुस्तकको गम्भीर अध्ययन, समीक्षा र बहसमार्फत उपयोगी निष्कर्ष निकाल्न सके देश विकासमा महत्वपूर्ण योगदान पुग्नेछ ।
उनले भने,‘राष्ट्रनिर्माण केवल सरकारको काम मात्र होइन् । यो साझा दायित्व हो । जहाँ राज्य, समाज ,नागरिक बुद्दिजिवी ,युवा पुस्ता, प्रवास नेपाली समुदायको उत्तिकै भूमिका हुन्छ । त्यसैले आज सार्वजनिक पुस्तकलाई म केवल प्रकाशन सामग्रीको रुपमा मात्र होइन् । राष्ट्रिय बहसका प्रारम्भिक दस्तावेजको रुपमा हेर्न चाहन्छु । यी पुस्तकको गम्भीर अध्ययन, समिक्षा र बहस गरेर उपयोगी निष्कर्ष सामाजिक सोचसँग जोड्यो भने यी पुस्तक देश विकासमा कोशेढुंगा सावित हुन्छ । देश योजनाले मात्र होइन् दृष्टिकोणले बन्छ । देश केवल नाराले बन्दैन् । देश अनुशासन र साझा प्रतिबद्धताले बन्छ ।’
देश समृद्ध नभएसम्म व्यक्तिगत सफलताको कुनै अर्थ हुँदैन ः उपेन्द्र महतो
यस्तै कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले देश समृद्ध नभएसम्म व्यक्तिगत सफलताको कुनै अर्थ नहुने बताए ।
उनले गैरआवसीय नेपाली अभियान सुरु हुनुको आधार नै यही सोच भएको उल्लेख गरे । महतोले नेपालभित्र र बाहिर रहेका सबै नेपालीको साझा पीडा देशको समृद्धि नहुनु रहेको बताए ।
उनले लेखन र भाषण सजिलो भएपनि वास्तविक जिम्मेवारी महत्वपूर्ण हुने उल्लेख गरे । पुस्तकको संख्या मानवको संख्याभन्दा बढी हुन सक्छ, तर जिम्मेवारी कहाँ छ ? उनले प्रश्न गरे ।
उनले भने,‘व्यक्तिगत सफलताको जुनसुकै उचाइमा पुगेतापनि यदी देश समृद्ध भएन भने त्यो व्यक्तिगत सफलताको कुनै मान्यता हुँदैन भन्ने सोच र मान्यताले गैरआवसीय नेपाली अभियान सुरु भएको हो । नेपाल र नेपाली बाहिर जहाँ बसेपछि एउटै पीडा छ । मेरो देश समृद्धि किन भएन ? लेखन र भाषण धेरै सजिलो छ । पुस्तकको संख्या मानवको संख्या भन्दा बडि होला तर जिम्मेवारी खै त ?अरुको पीडामा हामी दुखी हौं अनि मात्र देश बन्छ ।’
पुस्तक मात्र होइन, राष्ट्रिय प्रश्न सार्वजनिक भएको छ ः लेखक, खेम शर्मा
त्यसैगरी लेखक खेम शर्माले २४ वटा डिजिटल पुस्तक सार्वजनिक गरिएको जानकारी दिँदै यो केवल पुस्तक प्रकाशन नभई एक सोच, जिम्मेवारी, प्रतिबद्धता र राष्ट्रिय प्रश्न सार्वजनिक भएको बताएका छन् ।
उनका अनुसार ती पुस्तकहरूले नेपाललाई कसरी अझ राम्रो देश बनाउन सकिन्छ भन्ने मूल प्रश्न उठाएको छ ।
‘आज हामी २४ वटा डिजिटल पुस्तक सार्वजनिक गर्दैछौं तर पुस्तक मात्र सार्वजनिक भइरहेको छैन। यहाँ एउटा सोच, एउटा जिम्मेवारी, एउटा प्रतिबद्धता र एउटा राष्ट्रिय प्रश्न सार्वजनिक भइरहेको छ । त्यो हो नेपाललाई कसरी राम्रो देश बनाउन सक्छौं भन्ने कुरा,’ उनले भने ।
शर्माको मनमा नेपाल किन आफ्नो पूर्ण सम्भावनासम्म पुग्न सकेन भन्ने प्रश्न लगातार उठिरहेको थियो ।
उनका अनुसार, भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि यो प्रश्न अझ गम्भीर बनेको थियो । त्यसपछि पछिल्ला सात महिनासम्म दैनिक १४ देखि १६ घण्टा पढ्ने, लेख्ने, सोच्ने, छाँटकाँट गर्ने र पुनर्लेखन गर्ने कठोर अनुशासनमा रहेर पुस्तक तयार पारेको उनले सुनाए ।
उनले पुस्तक लेखनलाई केवल लेखन नभई एक प्रकारको तपस्या भएको उल्लेख गरे ।
उनले भने,‘नेपाल किन आफ्नो पूर्ण सम्भावनासम्म पुग्न सकेन भन्न प्रश्न मेरो मनमा लगातार आयो । भदौै २३ र २४ गतेको जेनजी आन्दोलनको भोलीपल्टदेखि यो प्रश्न अझ गम्भीर हुँदै गयो । त्यहाँदेखि पछिल्ला सात महिनासम्म हरेक दिन १४ देखि १६ घण्टासम्म पढ्ने, लेख्ने, सोच्ने, छाँटकाँट गर्ने ,मिलाउने र पुर्नलेखन गर्ने कठोर अनुशासन म बाट सुरु भयो । मेरो लागि त्यो पुस्तक लेखनमात्रै होइन् ,एउटा तपस्या पनि थियो । थकान आयो, शंका आयो, एक्लोपनपनि आयो तर यात्रा कहिल्यै रोकिएन ।’
प्रवास नेपाली ज्ञान, अनुभव र राष्ट्रिय भावनाको ठूलो शक्ति हो : अध्यक्ष दाहाल







