वालिङ स्याङ्जा, ४ वैशाखः भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको स्वास्थ्य बिमा गर्न थालेको छ ।
यही वैशाख १ गतेदेखि वडाले बालमैत्री शीर्षकअन्तर्गत बाल कक्षादेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको हो ।
वडाध्यक्ष नन्दलाल खनालका अनुसार वडाका सामुदायिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई वडाले जन्मदर्ताका आधारमा हरेक विद्यार्थीको रु एक लाख बराबरको स्वास्थ्य बिमा गर्न प्रारम्भ गरेको हो । उनले भने, ८ नं वडा भएको भिरकोट नगरपालिकाभित्रका जुनसुकै सामुदायिक वा संस्थागत विद्यालयमा अध्ययन गरे तापनि वडाले निशुल्क स्वास्थ्य बिमा गरिदिने भएको हो ।
स्वास्थ्य बिमा लागू भएका अस्पतालबाट बिमाअनुसार नै उपचार हुने र अन्य अस्पतालहरुमा उपचारको रसिदका आधारमा भुक्तानी हुने उनले जानकारी दिनुभयो । यो वडाले जन्मदर्ता प्रोत्साहन गर्न बच्चा जन्मेपछि खाता खोलेर रु पाँच हजार जम्मा गरिदिँदै आएको छ ।







