बर्दिबास । सामान खरिद गर्न, कुनै कामकाज निम्टाउन, घुम्न वा साथीभाइ भेट्न हामी अक्सर बजार जाने गर्छौँ। यी युवा पनि हरेकदिन आफ्नो वासस्थान छाडेर बजार आउजाउ गर्छन् तर उनको बजार जानुको उद्देश्य विल्कुलै फरक छ ।
उनी त हरेक दिन अरुले फालेको खानेकुरा संकलन गर्न बजार जाने आउने गर्दा रहेछन् । फालेको, सडेको र गलेका खानेकुरा जम्मा गर्नु, सडकको एक किनारामा बसेर भोको पेटलाई शान्त पार्नु र जंगलमा गएर खुला आकाशमुनी रात विताउनु उनको दैनिकी बनेको छ ।
यो कुनै काल्पनिक र वनावटी कथा होइन । उद्धारका साक्षी बनेका नेपाल प्रहरीले नै उनको यस्तो दुदर्शाबारे हामीलाई बताएका हुन् ।
उनको अवस्था हेर्दा हामीलाई लाग्न सक्छ यतिका लक्का जवानले त आफैले काम गरेका खाए हुने हो । कुरा ठिकै हो तर यसका लागि उनको दिमागी हालतले नै दिँदैन ।
हरेक नेपाली नागरिकले सम्नानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता नेपालको संविधानले नै गरेको छ । तर नागरिकले त्या अधिकार व्यवहारिकरुपमा अनुभूति गर्न पाएनन् भने संविधानको मूल्य पनि सामान्य कागजको खोस्टो बराबर नै हुने रहेछ । स्वयं आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका कयौँ सडकआश्रितहरुको लागि यस्तै सामान्य कागजको खोस्टो बराबर बनेको छ नेपालको संविधान ।
उनलाई मानवसेवा आश्रमको उद्धार टोलीले बिहीबार बर्दिबास चोकबाट उद्धार गरी संरक्षणमा लिएको छ । विगत १४ वर्षदेखी देशव्यापीरुपमा यस्तै खुला आकाशमुनी रात बिताउन बाध्य भएका, खाना, नाना र छानाको टुङ्गो नभएका १४ हजार बढी सहयोगापेक्षीहरुको उद्धार र तीनको मानवोचित व्यवस्थापन गराइसकेको मानवसेवा आश्रमले वि स २०८२ सालभित्र सडकआश्रित सहयोगापेक्षी मानवमुक्त राष्ट्र नेपाल निर्माणको संकल्प लिएको थियो ।
आवश्यकताअनुसारको सरकारको साथ नपाउँदा केही समय लम्बिन सक्ने भएपनि आउँदो भाद्र १३ गतेसम्ममा जसरी पनि सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषाा हुने आश्रमका केन्द्रीय सचिव एवम् प्रवक्ता सुमन बर्तौला बताउँछन् ।
संविधानले ३१ ओटा मौलिक अधिकारको सुनिश्चितता गरेको भएपनि अझै पनि कयौँ मानिस खाना, नाना र छाना जस्ता मानवअधिकारको पहिलो सिडीमै सङ्घर्ष गरिरहेका छन्। यो अवस्थाको अन्त्य हामी विगत १४ वर्षदेखी अर्जुनदृष्टि राखेर काम गरिरहेको बताउनुहुन्छ मानवसेवा आश्रमका प्रमुख संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारी ।
सात प्रदेशको २१ जिल्लामा ३१ वटा शाखा विस्तार गरी ७ प्रदेशका सहयोगापेक्षी सडकआश्रितमानवहरुको उद्धार, उपचार र सम्भव भएकाहरुलाई औषधोपचार पश्चात् पारिवारिक मिलन गराउँदै आइरहेको मानवसेवा आश्रममले हाल सातै प्रदेशमा प्रदेश स्तरीय उद्धार यात्रा सञ्चालन गरिरहहेको छ भने आउदो बैशाख ३० गतेबाट मेची महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु गर्दैछ ।







