लुम्बिनी । मानवसेवा आश्रमले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश बनाउने लक्ष्यसहित शुभारम्भ गरिएकाे उद्धार यात्रामा ४ जना सडक मानवको उद्धार गरिएको छ।
उद्धारको पहिलो दिन बर्दिया बाट २ जना र तेस्रो दिन दाङबाट २ जना गरी कुल ४ जनाको उद्धार गरिएको आश्रमका अभियन्ता उर्बिन सापकोटाले जानकारी दिनुभयो। उद्धार गरिएका व्यक्तिहरूलाई आवश्यक सेवासहित आश्रमका नेपालगञ्ज र दाङ शाखाकाे संरक्षणमा राखिएको छ।
उद्धार यात्राका टोलीले विभिन्न सरोकारवालासँग समन्वय गर्दै सडकमानवको खोजी गरिरहेको छ भने प्रदेश घोषणाका लागि आधार तयार पार्ने सम्बन्धमा हस्ताक्षर संकलन समेत गरिरहेको छ।
यात्रा चैत्र १५ गतेदेखि सुरु भएको यात्रा लुम्बिनी प्रदेशका १२ जिल्लामा पुगेर सडकमानवको खोजी गरी चैत्र ३० गते औपचारिक रूपमा सम्पन्न हुने जनाइएको छ।
मानवसेवा आश्रम देशभर सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताइरहेका असहाय, अशक्त तथा बेसहारा व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलनमा सक्रिय एक गैरनाफामूलक सामाजिक संस्था हाे ।







