काठमाडौं । थारू विद्यार्थी समाज केन्द्रीय कार्यसमितिले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ बाट निर्वाचित थारू समुदायका सांसदहरूलाई सम्मान गर्ने भएको छ । समाजले आगामी शनिबार काठमाडौंको अनामनगरमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान गर्न लागेको हो ।
कार्यक्रममा थारू समुदायबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।
समाजका अध्यक्ष बिमल चौधरीका अनुसार, यो कार्यक्रम केवल बधाई साटासाटमा मात्र सीमित रहने छैन । यसले नवनिर्वाचित सांसदहरू र थारू विद्यार्थी तथा युवाहरूबीच एउटा सार्थक संवादको वातावरण समेत सिर्जना गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा थारू समुदायको शैक्षिक अवस्था, पहिचानको मुद्दा, र राज्यका विभिन्न निकायमा समानुपातिक समावेशीकरणको वर्तमान अवस्थाबारे सांसदहरूको ध्यानाकर्षण गराइनेछ ।
थारू विद्यार्थी समाजले स्थापना कालदेखि नै थारू विद्यार्थीहरूको हकहित, छात्रवृत्ति, र शैक्षिक गुणस्तर सुधारका लागि वकालत गर्दै आएको छ । यस पटकको निर्वाचनपछि सदनमा पुगेका थारू प्रतिनिधिहरूले राष्ट्रिय स्तरमा समुदायको प्रतिनिधित्व गर्दै सुशासन र समृद्धिका लागि खेल्ने भूमिका महत्वपूर्ण हुने विश्वास समाजले व्यक्त गरेको छ ।
कार्यक्रममा काठमाडौंमा रहेका थारू विद्यार्थी, बौद्धिक व्यक्तित्व, नागरिक समाजका अगुवाहरूको सहभागिता रहनेछ ।
कार्यक्रमको पूर्ण विवरणः
मितिः २०८२ चैत १४ गते, शनिबार
समयः बिहान ठीक ११ः३० बजे
स्थानः तमु बुद्ध सेवा समिति, अनामनगर, काठमाडौं







