रौतहट । श्रद्धा, निष्ठा र लोक आस्थाको महापर्व चैती छठ आज (आइतबार) देखि रौतहटसहित मधेश प्रदेशका विभिन्न जिल्लामा विधिवत रूपमा सुरु भएको छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने यस पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि सम्पन्न गर्दै छन् ।
पर्वको पहिलो दिन व्रतालुहरूले नजिकैको नदी, पोखरी वा जलाशयमा स्नान गरी पवित्र भएर शुद्ध भोजन ग्रहण गर्ने गर्दछन् । आजको दिन चोखोनीतो खाएर व्रतको सङ्कल्प गरिन्छ । विशेष गरी अरवा चामलको भात, चनाको दाल र लौकाको तरकारीलाई प्रसादको रूपमा ग्रहण गर्ने परम्परा छ ।
चार दिनसम्म चल्ने यो पर्वको दोस्रो दिन (सोमबार) ‘खरना’ मनाइनेछ । यस दिन व्रतालुहरू दिनभर उपवास बसेर बेलुका सख्खरमा पकाइएको खिर, रोटी र फलफूल प्रसादको रूपमा ग्रहण गर्दछन् ।
पर्वको मुख्य दिन अर्थात् तेस्रो दिन (मंगलबार) षष्ठी तिथिका दिन व्रतालुहरू निराहार उपवास बस्छन् । साँझपख पवित्र जलाशयको घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ, जसलाई ‘सम्झिया अर्घ’ भनिन्छ । पर्वको अन्तिम दिन बुधबार सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व विधिवत रूपमा सम्पन्न हुनेछ, जसलाई ‘भोरका अर्घ’ वा ‘पारन’ भनिन्छ ।
षष्ठी देवी र सूर्यदेवको उपासना गरिने यस पर्वमा ठेकुवा, भुसवा, केरा, उखु, सुन्तला, निमुवा, बेसारको बोट, मूला र सुथनी जस्ता स्थानीय कृषि उपजहरूलाई प्रसादको रूपमा प्रयोग गरिन्छ ।
वर्षमा दुई पटक (कात्तिक र चैतमा) मनाइने छठ पर्वलाई मधेशमा लोक संस्कृतिको अभिन्न अङ्ग मानिन्छ । यद्यपि कात्तिकको छठमा जस्तो ठुलो भिडभाड चैती छठमा नभए पनि पछिल्लो समय यसप्रति जनसहभागिता र श्रद्धा बढ्दै गएको देखिन्छ। यो व्रत गर्नाले सन्तान प्राप्ति, चर्म रोग निको हुने र पारिवारिक सुख–समृद्धि कायम हुने धार्मिक विश्वास रहेको छ ।
अहिले रौतहटका बागमती, लाल बकैया लगायतका नदी किनारा र विभिन्न पोखरीका घाटहरूलाई सजाउने कार्य भइरहेको छ । चैती छठको अवसरमा मधेशका गाउँदेखि सहरसम्म भक्तिमय वातावरण छाएको छ ।






