६ चैत्र २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौँ पहिलाे ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ महानगर घोषणा हुँदै

काठमाडौँ। काठमाडौँ महानगरपालिकालाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त महानगर’ घोषणा गर्ने तयारी तथा घोषणापछिकाे संस्थागत र सामाजिक व्यवस्थापनका विषयमा मंगलबार विचार विमर्श गरिएको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीसँगै अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो।

छलफलमा कार्यवाहक प्रमुख डंगोलले घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसलाई दीर्घकालीन रूपमा कायम राख्न आवश्यक कानुनी, प्रशासनिक तथा व्यावहारिक पक्ष सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। “घोषणा गर्न सजिलो हुन सक्छ, तर उपलब्धिलाई यथास्थानमा कायम राख्न चुनौतीपूर्ण हुन्छ। त्यसका लागि प्रणाली, तत्परता र समन्वय अत्यावश्यक हुन्छ,” उल्लेख गर्नुभयो।

सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलाले हालसम्म हासिल भएका उपलब्धिहरूलाई जोगाउँदै थप प्रभावकारी कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो। त्यसैगरी महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले सडकमा रहेका सहयोगापेक्षी व्यक्तिहरूको उद्धार कार्य निरन्तर जारी रहेको जानकारी दिनुभयो।

महानगरपालिकाले वि‍ सं‍ २०७४ मंसिर १ गतेदेखि मानवसेवा आश्रमसँग सहकार्य गर्दै सडकआश्रित मानव व्यवस्थापनको कार्य सुरु गरेको हो। महानगर क्षेत्रबाट हालसम्म २ हजार ९१९ जना सडक आश्रित व्यक्तिहरूको उद्धार गरिएको छ। तीमध्ये ७१३ जनाको पारिवारिक पुनर्मिलन, ३३६ जनाको सामुदायिक पुनर्मिलन गराइएको छ भने ३१५ जनाको मृत्यु भइसकेको छ। हाल २६८ जना आश्रमको संरक्षणमा रहेका छन्।

महानगरपालिकाले आश्रमलाई हालसम्म २ करोड ८४ लाख ७३ हजार २३७ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुका साथै उद्धार कार्यका लागि आवश्यक सवारी साधनसमेत उपलब्ध गराएको छ। साथै, सहयोगापेक्षी व्यक्तिहरूको पहिचान, व्यवस्थापन तथा उद्धार कार्यमा जनप्रतिनिधि, प्रशासनिक कर्मचारी तथा महानगर प्रहरी बलको सक्रिय समन्वय रहँदै आएको छ।

छलफलमा ‘सडक मानवमुक्त महानगर’ घोषणा पश्चात् उपलब्धिलाई दिगो बनाउन उच्चस्तरीय कार्यदल गठन, सम्पर्क व्यक्ति तोक्ने, संयुक्त उद्धार टोली परिचालन, नियमित अनुगमन, निःशुल्क स्वास्थ्योपचार, समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन तथा संस्थागत क्षमता अभिवृद्धि जस्ता विषयहरूमा विस्तृत रूपमा विचारविमर्श गरिएको थियो।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि