३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बर्दिया कारागारमा रासन र फोन सुविधा कटौती, प्रशासन भन्छ: दुरुपयोग रोकिएको हो

बर्दिया । बर्दिया जिल्ला कारागारमा कैदीबन्दीहरूले पाउँदै आएको फोन र रासन सुविधामा कटौती भएपछि उनीहरू र उनीहरूका आफन्तहरू समस्यामा परेका छन् । निर्वाचनको समय पारेर कारागार प्रशासनले फोन संख्या घटाएको र दैनिक उपलब्ध गराइने चामलको परिमाणमा समेत कमी गरेको भन्दै आफन्तहरूले गुनासो गरेका हुन् ।

फोनका लागि घण्टौं प्रतीक्षा

कैदीबन्दीका आफन्तहरूका अनुसार, यसअघि उपलब्ध रहेका फोनका सेटहरू कटौती गरिएपछि अहिले परिवार र कानुन व्यवसायीसँग कुरा गर्न निकै कठिनाइ भएको छ। ूआफ्नो मान्छेसँग दुई मिनेट कुरा गर्नका लागि पनि कैदीबन्दीहरू ४–५ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता छ, एक आफन्तले आरोप लगाए ।

चामल कटौतीको विवाद

फोन मात्र होइन, कैदीबन्दीले दैनिक रूपमा पाउने ७ सय ग्राम चामलमा पनि कटौती गरिएको आफन्तहरूको दाबी छ। सरकारले तोकेको मापदण्डअनुसार चामल नपाउँदा खानपानमा समस्या भएको उनीहरू बताउँछन् ।

प्रशासनको सफाइः दुरुपयोग रोक्न यसो गरिएको हो

यस विषयमा बर्दिया कारागारका प्रशासक मानबहादुर सारुसँग कुरा गर्दा उनले सुरक्षा र दुरुपयोग नियन्त्रणका लागि केही कदम चालिएको स्वीकार गरे। उनले भने, चुनावको समयमा फोनको धेरै गलत प्रयोजनका लागि प्रयोग हुन सक्ने जोखिमलाई ध्यानमा राखेर केही थान फोन कटौती गरिएको हो । कैदीबन्दीले परिवार र वकिलसँग कुरा गर्ने सुविधा पाए पनि त्यसको मिसयुज (दुरुपयोग) गरेको पाइयो ।

चामल कटौतीको सम्बन्धमा सारुले बचाउ गर्दै भने, नियमअनुसार एक जनालाई महिनाको २१ किलो चामल दिइने भए पनि त्यो परिमाण धेरै हुने र कैदीहरूले बढी भएको चामल बेच्ने गरेको पाइएको छ। कारागारभित्र चामल बेच्ने कार्य रोक्नका लागि आवश्यक जति मात्र चामल उपलब्ध गराइएको हो ।

प्रशासनले कैदीबन्दीलाई दिइने आधारभूत सुविधामा कुनै कमी नगरिएको दाबी गरे पनि, आफन्तहरूले भने मानव अधिकार र आधारभूत आवश्यकतामाथि कडाइ गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि