काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रामेछाप नगरपालिका–२ स्थित सिरुवारिमा गाडी दुर्घटना भएको प्रति दुःख व्यक्त गरेका छन् ।
विज्ञप्ति जारी गरी सभापति थापाल दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारलाई राज्यका तर्फबाट उचित सम्मान गर्न र घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।
सभापति थापाले भने, “फागुन २१ गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा निर्वाचन सामाग्री लिई मतदान केन्द्र तर्फ जाँदै गरेको सवारी साधन दुर्घटना हुँदा मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारका क्रममा र प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको तथा ७ जना गम्भीर घाइते भएको घटनाले मलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको छ । मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गर्दछु र शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका परिवारलाई राज्यका तर्फबाट उचित सम्मान गर्न र घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसंग जोडदार माग गर्दछु ।”







