१७ फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

बिपी राजमार्गमा जोखिमपूर्ण यात्रा : रोशी खोलाको अस्थायी कच्ची सडकले बढायो दुर्घटनाको जोखिम

रामेछाप । बीपी मार्ग अन्तर्गत पर्ने रोशी खोलाको खण्ड अहिले अत्यन्तै जोखिमपूर्ण बनेको छ ।

गत वर्ष र यस वर्षको वर्षायाममा आएको भीषण बाढीले रोशी खोलाको आसपासको सडक संरचना पूर्ण रूपमा क्षतविक्षत बनाएपछि हाल उक्त क्षेत्रमा पुनर्निर्माणको काम भइरहेको छ ।

तर स्थायी संरचना निर्माण नसकिँदासम्म अस्थायी कच्ची सडकबाट सवारी सञ्चालन गरिँदा यात्रुहरूले ठूलो जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

बाढीले सडक बगाएको तथा कटान गरेको क्षेत्रमा निर्माण व्यवसायीमार्फत सडक निर्माणको काम जारी रहेको छ ।

निर्माण कार्य भइरहेका कारण सवारी साधनलाई खोलाको बगरमा बनाइएको अस्थायी मार्गबाट सञ्चालन गरिएको छ । बगरमा बनाइएको उक्त सडक कच्ची, साँघुरो र खाल्डाखुल्डी भएकाले यात्रा अत्यन्तै कष्टकर र जोखिमपूर्ण बनेको छ ।

सडकमा ठूला–ठूला खाल्डाखुल्डी, धुलाम्मे वातावरण र एकतर्फी जस्तो साँघुरो बाटो हुँदा दुईतर्फी सवारी सञ्चालनमा कठिनाइ भइरहेको छ । कतिपय स्थानमा सवारी साधनहरू एक–अर्कालाई बाटो दिन लामो समय कुर्नुपर्ने अवस्था छ ।

सामान्य अवस्थामा काठमाडौंबाट करिब तीनदेखि साँढे तीन घण्टामा पुगिने खुर्कोट पुग्न अहिले पाँचदेखि ६ घण्टासम्म लाग्ने गरेको छ ।

लामो जाम, धुलो र अव्यवस्थित सडक अवस्थाका कारण बिरामी, बालबालिका र वृद्ध यात्रुहरू बढी प्रभावित भएका छन् । कतिपय सवारी साधन बिग्रिएर बीच बाटोमै रोकिँदा जोखिम अझ बढेको छ ।

विशेषगरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौंमा रहेका मतदाता जिल्ला फर्किने क्रम सुरु भएसँगै सवारी चाप ह्वात्तै बढेको छ । चुनाव नजिकिँदै जाँदा यात्रुहरूको संख्या बढेपछि साँघुरो अस्थायी सडकमा दुर्घटनाको सम्भावना पनि बढेको छ ।

रोशी खोलाको खण्ड अहिले बिपी मार्गकै सबैभन्दा संवेदनशील र जोखिमयुक्त क्षेत्र बनेको छ ।

यात्रुहरूले सावधानीपूर्वक यात्रा गर्नुपर्ने अवस्था छ भने सम्बन्धित निकायले निर्माण कार्य तीव्र पार्दै अस्थायी सडकलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक पहल गर्नुपर्ने मागसमेत उठेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि