रामेछाप । रामेछापको सबैभन्दा होचो भू–भाग कोलोञ्जोरघाटदेखि लिखु नदीको उद्गमस्थल नुम्बुर हिमाल नजिक गुम्देलको लाहा छेवरसम्म जोड्ने ‘लिखु कोरिडोर’ सडक निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।
करिब ५५ किलोमिटर लामो उक्त सडकअन्तर्गत हालसम्म करिब ५ किलोमिटर खण्ड कालोपत्रे सम्पन्न भएको छ भने बाँकी क्षेत्रमा स्तरोन्नतिको काम जारी रहेको छ ।
रामेछाप र सिन्धुलीको फिक्कल क्षेत्रलाई जोड्ने सुनकोसीस्थित कोलोञ्जोरघाट पुलदेखि साँघु टारतर्फको ५ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
यो खण्डले स्थानीय आवतजावत सहज बनाउनुका साथै वर्षा याममा हुने सवारी अवरोधको समस्या न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । कोलोञ्जोरघाटदेखि सिरिससम्मको सडक खण्डमा हाल स्तरोन्नतिको काम भइरहेको जनाइएको छ ।
निर्माणाधीन लिखु कोरिडोर सडकले रामेछापका उच्च हिमाली बस्तीलाई तराई तथा काठमाडौँसँग सिधा र छोटो दूरीमा जोड्ने लक्ष्य राखेको छ ।
सडक सम्पन्न भएपछि गुम्देललगायतका स्थानीय बासिन्दालाई तराई र संघीय राजधानीसम्म पुग्न सहज हुने छ । साथै हिमाली क्षेत्रका कृषि तथा पशुपालनजन्य उत्पादन तराईसम्म र तराईका उपभोग्य सामग्री हिमाली बस्तीमा ढुवानी गर्न सहज हुने छ ।
यो सडक लिखु नदीको शिर पर्ने उमा कुण्ड गाउँपालिका–१ गुम्देलबाट सुरु भई सोही गाउँपालिकाको बाम्ती, कुँबुँकास्थली, प्रति र भूजी हुँदै लिखु तामाकोसी गाउँपालिका दुरा गाउँ, सुपै र बिजुली कोट पार गर्दै रामेछाप नगरपालिका अन्तर्गत साँघु टार, हिमगंगा र रामपुर हुँदै कोलोञ्जोरघाटबाट मध्य पहाडी लोक मार्गमा जोडिनेछ ।
सडक पूर्ण रूपमा कालोपत्रे भएपछि लिखु कोरिडोर हुँदै मध्य पहाडी मार्ग र बिपी राजमार्गमा जोडिने सबैभन्दा छोटो र सिधा मार्गका रूपमा स्थापित हुनेछ । यसले रामेछापको हिमाली भेगको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्ने स्थानीयको अपेक्षा रहेको छ ।







