रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले रौतहटको गौरमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
रौतहट क्षेत्र नं. १ का उम्मेदवार समेत रहेका नेता नेपालले शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै हिन्दु र मुस्लिम समुदायबीचको द्वन्द्वले जनजीवन त्रसित बनेकोमा चिन्ता व्यक्त गरेका छन् ।
गौरको सबगढा लगायतका क्षेत्रमा उत्पन्न तनावले सर्वसाधारणको सुरक्षा जोखिममा परेको उल्लेख गर्दै उनले , ‘हिन्दु होस् वा मुस्लिम, कुनै पनि नागरिकको जीवन र सुरक्षा जोखिममा पर्नु हुँदैन। यस्तो द्वन्द्व कुनै पनि हालतमा स्वीकार्य छैन ।’
नेता नेपालले स्थिति नियन्त्रणमा लिन सरकार र सुरक्षा निकायसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए । उनले गृहमन्त्रीसँग टेलिफोन संवाद गरी शान्ति सुरक्षा कायम गर्न आवश्यक परे निषेधाज्ञा (कफ्र्यू) लगाउन र सशस्त्र प्रहरी एवं नेपाली सेना समेत परिचालन गर्न सुझाव दिएको बताएका छन् ।
‘मैले गृहमन्त्रीजीसँग कुरा गरेको छु, कफ्र्यु लगाएर भए पनि स्थिति नियन्त्रणमा लिनुपर्छ,’ नेपालले भने, ‘यसका साथै जनकपुरका डिआइजी, रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग पनि समन्वय भइरहेको छ ।’
कसैको घरमा क्षति नपुगोस् र व्यक्तिगत मर्यादामा आँच नआओस् भन्नेतर्फ प्रशासन सचेत हुनुपर्नेमा जोड दिँदै उनले घृणा त्यागेर आपसी छलफल र संवादबाट समस्या समाधान गर्न सबै पक्षलाई अपिल गरेका छन् ।
गौरको तनावप्रति माधव नेपालको चिन्ता : ‘सामाजिक सद्भाव बिथोलिन नदिनुस्’







