कैलाली । कैलाली क्षेत्र नम्बर–५ सुदूरपश्चिम प्रदेशको राजधानी हो । राजधानी मात्र नभई कैलाली–५ सुदूरपश्चिम प्रदेशका अन्य क्षेत्रको तुलनामा शिक्षित मतदाता भएको क्षेत्र पनि हो । विगत देखिनै कैलाली–५ का मतदाताले स्वबिवेक प्रयोग गरेको पाइन्छ ।
२०६४ को निर्वाचनमा तत्कालिन नेकपा माओवादीका तर्फबाट लिला भण्डारीले साविकको कैलाली क्षेत्र नम्बर–६ (हालको क्षेत्र नम्बर–५) बाट संविधा सभाको निर्वाचन जितेकी थिइन् । २०६८ को दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसका तत्कालिन नेता शेर बहादुर देउवाले चुनाव वितेका थिए । देउवाले यो क्षेत्र छोडेर डडेल्धुरा रोजेपछि भएको उप चुनावमा पनि कांग्रेस नेता पुस्करनाथ ओझाले जीत हाँसिल गरे ।
२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन नेकपाका नारद मुनि रानाले जितेको कैलाली ५ मा २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त निर्वाचित भएका थिए । यस पटकको निर्वाचनमा पनि कैलाली–५ का मतदाताले कसलाई मत दिने भन्ने निक्र्यौल गरिसकेका छैनन् ।
तर पुराना दलप्रति आक्रोश भने बढी देखिन्छ । फागुन २१ गते हुने प्रतिनिधसभा निर्वाचनका विषयमा गरिएको स्थलगत रिपोर्टिङले कैलाली–५ मा यस पटक पनि फरक मत परिणाम आउने आँकलन भने गर्न सकिन्छ । धनगढी–३ की राधिका कार्की विगतमा आश्वासन दिएर जितेका दल र उम्मेदवारले काम गरेर दखाउन नसकेको बताउँछिन् । उनले यस पटकको निर्वाचनमा मत परिवर्तन गर्ने स्पष्ट सन्देश दिइन् ।
धनगढी–३ की जेष्ठ मतदाता जानकी सिंह पनि विगतमा मत दिएर पठाएकाबाट सोचे अनुसार काम हुन नसकेको बताउँछिन् । विगतमा राजनीतिक दलले गरेका वाचा वोलिमै सिमित भएको उनको अनुभव छ । केही परिवर्तन भएपनि अपेक्षा अनुसार विकास हुन नसकेको सिंहको भनाई छ ।
धनगढी–३ कै मतदाता पार्वति धामी विगतमा भोट दिएर जिताएका उम्मेदवारले आफ्ना वाचा पुरा हुन नसकेको बताउँछिन् । धनगढीका स्वतन्त्र मेयर गोपाल हमालको कामको प्रशंसा गर्ने धामी दलबाट भने सन्तुष्ट देखिँदैनन् । अहिलेको पुस्ता नयाँ सोचका साथ अघि बढेकाले परिणाम पनि फरक आउन सक्ने धामीको भनाई छ ।
कैलाली–५ कै मतदाता माधव पनि जनतामा निरासा रहेकाले उत्साह नदेखिएको बताउँछन् । राजनीतिक दलले हालसम्म शासन गरेका दलहरुले सोचे अनुसार काम नगर्दा गरिबी बढेको ढकाल बताउँछन् । देशमा प्रयाप्त सम्भावना भएपनि दलहरुले त्यसलाई सदुपयोग गर्न नसकेको ढकालको भनाई छ । परिवर्तन भएपनि सुस्त भएकाले नागरिकमा निरासा बढेको ढकाल बताउँछन् ।
कैलाली–५ मा एक लाख १६ हजार मतदाता रहेका छन् । यस क्षेत्रबाट कांग्रेसका प्रदेश महामन्त्री नरनारयण शाह (मनु) एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगाना, नेकपाका नेता प्रेम बहादुर आले, रास्वपाबाट आनन्दबहादुर चन्द चुनावि प्रतिस्पर्धामा रहेका छन् ।







