काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो पहिलो सावर्जनिक सम्बोधनमा बंगलादेश आतंकको युगमा धकेलिएको बताएकी छन् । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसमाथि कडा प्रहार गर्दै उनले बंगलादेश “आतंकको युगमा प्रवेश गरेको” दाबी गरेकी हुन् । नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा पूर्वरेकर्ड गरिएको अडियो सन्देशमार्फत बोल्दै हसिनाले युनुस नेतृत्वको अन्तरिम सरकारलाई “अवैध, हिंस्रक र फासिवादी शासन” को संज्ञा दिँदै जनतालाई उक्त शासनविरुद्ध उभिन आह्वान गरिन् ।
उनले देशको भूमि र प्राकृतिक स्रोत विदेशी स्वार्थका लागि साट्ने षड्यन्त्र भइरहेको समेत आरोप लगाएकी छन् ।
गत वर्ष अगस्ट २०२४ मा हिंसात्मक आन्दोलनपछि भारत आएकी हसिनाको यो भारतमा पहिलो सार्वजनिक सम्बोधन हो । उनले भनिन,“आज बंगलादेश खाडलको छेउमा उभिएको छ । मुक्ति संग्रामबाट प्राप्त हाम्रो मातृभूमि चरमपन्थी साम्प्रदायिक शक्तिहरू र विदेशी हस्तक्षेपका कारण रक्तरञ्जित बनेको छ ।”
हसिनाले देशभर हिंसा, लुटपाट, जबर्जस्ती असुली, महिला तथा बालिकामाथि यौनहिंसा बढेको, प्रेस स्वतन्त्रता समाप्त भएको र धार्मिक अल्पसंख्यकमाथि अत्याचार भइरहेको आरोप लगाइन्। “सम्पूर्ण देश जेलखाना जस्तै बनेको छ, लोकतन्त्र निर्वासनमा गएको छ,” उनको भनाइ थियो । उनले अगस्ट ५, २०२४ मा आफूलाई योजनाबद्ध षड्यन्त्रमार्फत सत्ताबाट हटाइएको दाबी गर्दै त्यसपछि देश अराजकतामा फसेको बताइन् । उनका अनुसार शिक्षा संस्था अव्यवस्थित छन् र न्याय प्रणाली जनताका लागि भयावह बनेको छ । आवामी लिगकी नेतृ हसिनाले युनुस सरकारले बंगलादेशलाई बहुराष्ट्रिय द्वन्द्वतर्फ धकेलिरहेको आरोप पनि लगाइन् । उनले लोकतान्त्रिक, प्रगतिशील र धर्मनिरपेक्ष शक्तिहरूलाई एकजुट हुन आह्वान गरिन् ।
हसिनाले देश पुनर्निर्माणका लागि पाँच बुँदे योजना प्रस्तुत गर्दै सबैभन्दा पहिले “अवैध युनुस प्रशासन हटाएर लोकतन्त्र पुनःस्थापना गर्नुपर्ने” बताइन् । साथै, हिंसा अन्त्य, धार्मिक अल्पसंख्यक तथा महिला–बालिकाको सुरक्षा, राजनीतिक प्रतिशोधका मुद्दा अन्त्य र न्यायपालिकाको निष्पक्षता पुनःस्थापना गर्नुपर्नेमा जोड दिइन् ।
उनले संयुक्त राष्ट्रसंघलाई पछिल्लो एक वर्षका घटनाबारे निष्पक्ष अनुसन्धान गर्न आग्रह गर्दै भनिन, “सत्यको शुद्धीकरण बिना मेलमिलाप र भविष्य सम्भव छैन ।” बंगलादेशमा फेब्रुअरी १२ मा राष्ट्रिय निर्वाचन तय भएको छ भने शेख हसिनाको दल आवामी लिगका गतिविधि प्रतिबन्धित गरिएको छ र दलको दर्ता निलम्बनमा छ ।







