दोधारा चाँदनी कञ्चनपुर, १० माघः प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले विपिन चोक नामाकरण गरेको छ ।
मृतक विपिनको घर जाने सडक पूर्वपश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडकको मुख्य चोकको नाम विपिन जोशी चोक नामाकरण गरिएको हो । भीमदत्तनगर कार्यपालिकाको निर्णयपछि नगरपालिका र वडा कार्यालयले शुक्रवार औपचारिक रूपमा उक्त चोकको नामाकरण गर्दै विपिन जोशीको नाम लेखिएको बोर्ड राखेको हो । सोही स्थानमा विपिनको सालिक निमार्ण गर्ने भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगन धामीले जानकारी दिए । उनका अनुसार सालिक निमार्णका लागि नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरिसकेको छ ।
कार्यपालिकाबाट विपिनको स्मृतिमा विपिन चोक नामाकरण गरि सालिक बनाउने निर्णय भएको छ । अध्यक्ष धामीले भने, सोहीअनुरुप आज विपिन चोक नामाकरण गरिएको छ, केही समयपछि सालिक स्थापनाकार्यलाई पूर्णता दिइन्छ । यसअघि भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले विपिनको स्मृतिमा सालिक स्थापना गर्ने प्रतिवद्धता जनाएका जनाउनुभएको थियो । विपिन चोक घोषणा कार्यक्रममा विपिनका बुवा महानन्द जोशी, दाइ किशोर जोशीलगायत परिवारका सदस्यको उपस्थिति रहेको थियो । भीमदत्त नगरकार्यपालिकाले विपिनलाई सहिद घोषणा गर्न जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय सरकारमा सिफारिससमेत गरेको वडाध्यक्ष धामीले जानकारी दिए ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका ४९ जना विद्यार्थी दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल पुगेका थिए । उनीहरु इजरायल पुगेको महिना दिन नपुग्दै हमासको आक्रमणमा परेका थिए । हमासको आक्रमणमा परेर १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । बन्धक बनाएकै अवस्थामा विपिनको मृत्यु भएको हो ।
गत कात्तिकमा इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरणअनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले विपिनको शव हस्तान्तरण गरेको थियो ।







