काठमाडौँ । मानवसेवा आश्रमका विभिन्न शाखाहरूले बुधबार बेवारिसे अवस्थामा रहेका ६ जना सडक मानवहरूको उद्धार गरेका छन् भने ३ जना आश्रितको सुखद् पारिवारिक पुनर्मिलन गराउन सफल भएका छन्।
उद्धार गरिएका व्यक्तिहरूमध्ये ३ जना महिला र ३ जना पुरुष रहेका छन्, जसलाई आश्रमको संरक्षणमा राखी आवश्यक सेवा प्रदान गरिएकाे छ ।
बुधबार आश्रितहरूको सेवा सहजीकरणका लागि सहयोगी दाताहरूबाट आश्रमलाई ८ लाख २७ हजार ३ सय ११ रुपैयाँ बराबरको सेवा योगदान प्राप्त भएको छ भने साेहीदिन आश्रितहरूको सेवा व्यवस्थापनमा भने २ लाख ८ हजार १ सय ८४ रुपैयाँ खर्च भएकाे आश्रमले जानकारी दिएकाे छ ।
त्यसैगरी बुधबार बिहान र बेलुका गरी आश्रमका विभिन्न शाखाहरूमा ३९ वटा भोजनसेवा तथा ६ वटा खाजासेवा सम्पन्न भएका छन्। सोही दिन ३ सय ४७ जनाले आश्रमका विभिन्न शाखाहरूको अवलोकन गरेका हुन् भने १ लाख ५८ हजार ३ सय ७२ रुपैयाँ बराबरका जिन्सी सामग्री आश्रमलाई प्राप्त भएको छ।
मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा,असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन सेवा गराउँदै आएको छ ।







