काठमाडौँ । मानवसेवा आश्रमले मंगलबार अलपत्र अवस्थामा रहेका ४ जना सडकआश्रित बेवारिसे पुरुषको उद्धार गरेको छ। काठमाडौँस्थित आश्रमको रानीवन शाखाले सडकपेटीमा अलपत्र अवस्थामा फेला परेका ४ जनालाई उद्धार गरी संरक्षणमा राखेको छ।
मंगलबार आश्रितहरूको सेवा सहजीकरणका लागि सहयोगी दाताहरूबाट आश्रमलाई २० लाख ५३ हजार २ सय ६२ रुपैयाँ बराबरको सेवा योगदान प्राप्त भएको छ । आश्रितहरूको सेवा व्यवस्थापनमा भने ६ लाख ६८ हजार ४५ रुपैयाँ सेवा सदुपयोग गरिएको आश्रमले जनाएकाे छ ।
त्यसैगरी मंगलबार बिहान र बेलुका गरी आश्रमका विभिन्न शाखाहरूमा ४८ वटा भोजनसेवा तथा ११ वटा खाजासेवा सम्पन्न भएका छन्। सोही दिन ४ सय ४४ जनाले आश्रमका विभिन्न शाखाहरूको अवलोकन गरेका थिए भने ४ लाख ८ हजार २ सय ५२ रुपैयाँ बराबरका जिन्सी सामग्री आश्रमलाई सहयोग बापत प्राप्त भएको छ।
मानवसेवा आश्रमले आफैं केही गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिहरूको सारथी बनेर देशका २१ जिल्लामा २९ वटा शाखामार्फत उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलनको जिम्मेवारी पूरा गर्दै निरन्तर सेवा प्रवाह गरिरहेको छ।







